इटहरी । चतराका धार्मिक गुरुहरू महायोगी सिद्धबाबा र बालसन्त मोहनशरण देवाचार्यबीच विगत १० वर्षयता बोलचाल बन्द छ । एउटाले आयोजना गरेको कार्यक्रममा अर्काे उपस्थित नहुने र अर्काे उपस्थित भएको कार्यक्रममा एउटा जाँदै नजाने यो परम्परा विगत १० वर्षदेखि नै चलिआएको छ ।

कुनै समय आफ्नैआश्रममा आश्रय दिएका सिद्धबाबा पनि जगद्गुरुका रूपमा परिचित हुन थालेपछि रुष्ट बनेका अर्का जगद्गुरु मोहनशरण स्थायीरूपमा चतरा बस्नै छाडे । 

एक दशकअघिदेखि नै सुरु भएको दुई धार्मिक गुरुबीचको विवाद अहिले औपचारिकरूपमै देखिने गरेको छ । त्यसको पछिल्लो उदाहरण आगामी चैत २७ गते सुरु हुने महाकुम्भ मेला र महायज्ञका नाममा हुन लागेका दुई धार्मिक समारोह हुन् ।

वराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा चैत २७ गते अर्थात् चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म १ महिना कुम्भमेला आयोजना हुँदैछ । सोही महाकुम्भलाई प्रत्यक्ष प्रभाव पार्ने गरी जगद्गुरु श्री रामानन्दाचार्य सेवा पीठले पनि विशाल महायज्ञको तयारी थालेको छ । आगामी चैत २७ गते देखि २०८१ वैशाख ११ गतेसम्म सङ्कट मोचन श्री हनुमद् महायज्ञबारे शनिबार इटहरीमा पत्रकार भेटघाट तथा बृहत् छलफलमा जानकारी गराइएको छ ।

चतरामा एक करोड सङ्ख्याको आहुती पुजनसहितको विशाल महायज्ञ हुने बताइएको छ । उक्त यज्ञमा दैनिक १ लाख भक्तजनहरूको उपस्थिति रहने आयोजक जगद्गुरु श्री रामानन्दाचार्य सेवा पीठका प्रवक्ता गोविन्दबाबु तिवारीले बताए । महायज्ञ सम्पन्न गराउन करिब ५ बिघा जमिनमा ४ लाख वर्गफिटको विशाल पन्डाल निर्माण भइरहेको छ, जहाँ दैनिक एक लाख भक्तजन तथा धार्मिक गुरुहरूलाई राखिने जनाइएको छ । महायज्ञमा बागेश्वर धाम सरकारका नामले परिचित युवा धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीले श्रीराम कथा वाचनलगायत धार्मिक अनुष्ठानका कार्यक्रमहरू गरिने आयोजकले जनाएको छ । यसको साथसाथै १ सय १० फिट अग्लो ९ तलाको राम मन्दिरको पनि शिलान्यास पनि गरिने आयोजक समितिका प्रवक्ता तिवारीले बताए ।

धार्मिक गुरु सिद्धबाबाले भने महायज्ञलाई कुनै पनि सरकारले सहयोग नगरेको, स्थानीयस्तरबाटै सम्पन्न गराउन लागेको बताए । सिद्धबाबाले महायज्ञकै अवसरमा विशाल राम मन्दिरको पनि शिलान्यास गरिने बताए । करिब २ सय करोडको लागतमा निर्माण हुने उक्त राम मन्दिरको महायज्ञ सुभारम्भसँगै शिलान्यास गरिने गिरीले बताए । १५ दिनसम्म चल्ने महायज्ञमा नेपाल, भारतलगायत अन्य देशहरूबाट पनि दैनिक एक लाखसम्म भक्तजन एवम् धार्मिक गुरुहरूको उपस्थिति रहने उनले बताए ।  शास्त्रीले चतराको महायज्ञमा ५ दिन समय  दिने भएको पनि पत्रकार भेटघाट तथा सामूहिक छलफलमा बताइएको छ ।

कुम्भलाई प्रत्यक्ष असर
जगद्गुरु रामानन्दाचार्य सेवा पीठको भनाइ छ । बरु महायज्ञले महाकुम्भकै गरिमा बढ्ने पीठको दाबी छ । तर महायज्ञले कुम्भ मेलालाई असर गर्ने एकाथरीको आरोप छ ।  चैत २७ अर्थात् चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म १ महिना आयोजना हुने कुम्भ मेलाको तयारी तीव्र भइरहेको बेला सोही समयमा चतरामै सङ्कटमोचन हनुमद् महायज्ञ आयोजना गरिनुले कुम्भ प्रभावित हुने हुने उनीहरुको मत छ । वराहक्षेत्र धामका पीठाधीश प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यका निकट व्यक्तिहरुले एकै समयमा महायज्ञ गर्न नहुने उल्लेख गरे । जगद्गुरुसँग प्रतिशोध साध्नकै लागि र आफूलाई अब्बल बनाउन सिद्धबाबाले यस्तो प्रपञ्च गरेको जगद्गुरु निकटका व्यक्तिहरु बताउँछन् ।

त्यसमा पनि बागेश्वर धामका कथावाचक धीरेन्द्र शास्त्रीलाई ल्याएर ५ दिन कथा वाचन गराउन लगाउनु कुम्भ मेला असफल तुल्याउन रचिएको प्रपञ्च हुने उनीहरुको दाबी छ ।। शास्त्री एक चर्चित कथाकार हुन् । हरेक पुराण तथा धार्मिक अनुष्ठानका कार्यक्रमहरुमा उनको माग उच्च छ । उनी कुनै ठाउँमा गएर पुराण या कथा वाचन हत्तपत्त गर्दैनन् । तर, चतरामा भने ५ दिन समय दिएका छन् । यता प्रथम जगद्गुरु मोहनशरण देवाचार्यले भने एकै दिन कुम्भमेला र महायज्ञ गरिँदा कुम्भमा कुनै असर नपर्ने दाबी गरे । उनले चतरास्थित महाकुम्भको महत्व विश्वमाझ छर्लङ्गै रहेको कारण भव्यताका साथ सम्पन्न हुनेमा सङ्कोच नरहेको बताए ।

नेपालको चतराधाममा अमृतको घडा नै स्थापना गरी देवताहरुले महाकुम्भ मेला आयोजना गरेकोले चतराधाम कुम्भको राजधानी पनि रहेको बताइन्छ । भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको शास्त्रमा उल्लेख छ ।

नेपालमा पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत ६ गतेदेखि वैशाख शुक्ल तृतीयासम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो । जुन महोत्सव नेपालको इतिहासमा पुनर्जागृत गरिएको पहिलो कुम्भमेला थियो । चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भमेला अर्थात् पूर्ण कुम्भमेला र २०७५/०७६ सालमा चौथो कुम्भमेलाको रुपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ।

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.. १ चतराधाम कुम्भ नगरीको रुपमा परिचित छ । नेपालको एक मात्र कुम्भस्थलको रुपमा रहेको चतराधाममा ४ पटक कुम्भमेला सम्पन्न भइसकेका छन् । भारतको मध्य प्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्रस्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भमेला लाग्दै आएका छन् ।