धरान । धरानमा जारी २४ औँ वडास्तरीय गोधुली फुटबल प्रतियोगिताका लागि धरान–१८ का खेलाडीहरूलाई वडाले खेल सामग्री प्रदान गरेको छ ।

वडा १८ को टिमलाई सोमबार खेलकुद सामग्री प्रदान गरिएको हो । गोधुली क्लबको आयोजनामा धरान रङ्गशालामा प्रतियोगिता हुँदै आइरहेको छ । वडाले ४० हजार रुपैयाँ बराबरको १८ थान जर्सी, २४ थान ट्रयाकसुट, १८ थान मोजा र १० थान फुटबल प्रदान गरेको छ ।

धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई, कार्यवाहक अध्यक्ष जमुना त्रिखत्री मोक्तानलगायतले सामग्री प्रदान गरे । खेल सामग्री वितरणसँगै कार्यवाहक अध्यक्ष मोक्तानले खेलाडीहरूलाई जितको शुभकामना दिइन् ।