प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन् । 

ती परियोजनामा अखौरा–अगरतला क्रस बोर्डर रेल लिङ्क, खुलना–मोङ्गला पोर्ट रेल लाइन र बङ्गलादेशको रामपालमा मैत्री सुपर थर्मल पावर प्लान्टको युनिट–२ रहेका छन् । भारत र बङ्गलादेशबीच रेल र विद्युत् क्षेत्रको परियोजनाहरूको उद्घाटन दुवै मुलुकबीचको सम्बन्ध र साझेदारीलाई सुदृढ बनाउन केन्द्रित रहेको बताइएको छ । 

“यी महत्वपूर्ण परियोजनाहरूको संयुक्त उद्घाटनले हाम्रा दुई मित्र राष्ट्रबीचको दृढ मित्रता र सहयोगलाई प्रकट गर्दछ । जी२० शिखर सम्मेलनमा भाग लिन सन् २०२३ सेप्टेम्बरमा मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीको न्यानो आतिथ्यताका लागि म धन्यवाद दिन चाहन्छु”, बङ्गलादेशका प्रधानमन्त्री हसिनाले भने, “म हाम्रो दुवै मुलुकबीचको मित्रताको बन्धनलाई सुदृढ बनाउने तपाईंको प्रतिबद्धताप्रति आभार व्यक्त गर्दछु ।”

अखौरा–अगरतला क्रस बोर्डर रेल लिङ्क परियोजना भारत सरकारले बङ्गलादेशलाई दिएको तीन अर्ब ९२ करोड ५२ लाख भारतीय रुपैयाँको अनुदान सहयोगअन्तर्गत कार्यान्वयनमा ल्याइएको हो ।बङ्गलादेशमा छ दशमलव ७८ किलोमिटर डबल गेज रेल लाइन र त्रिपुरामा पाँच दशमलव ४६ किलोमिटरसहित रेल लिङ्क गरी कूल लम्बाइ १२ दशमलव २४ किलोमिटर रहेको छ ।

खुलना–मोङ्गला पोर्ट रेल लाइन परियोजना भारत सरकारको सहुलियतपूर्ण ऋणअन्तर्गत ३८ करोड ८९ लाख २० हजार अमेरिकी डलरको लागतमा कार्यान्वयनमा ल्याइएको हो । यो परियोजनामा मोङ्गला बन्दरगाह र खुलनामा विद्यमान रेल नेटवर्कबीच करिब ६५ किलोमिटर ब्रोड गेज रेलमार्ग निर्माण समावेश छ । यसका साथै बङ्गलादेशको दोस्रो सबैभन्दा ठूलो बन्दरगाह मोङ्गला ब्रोड गेज रेलवे नेटवर्कसँग जोडिएको छ । 

मैत्री सुपर थर्मल पावर परियोजना एक अर्ब ६० करोड अमेरिकी डलरको भारतीय सहुलियतपूर्ण ऋणअन्तर्गत बङ्गलादेशको खुलना डिभिजनमा रामपालस्थित एक हजार तीन सय २० मेगावाटको सुपर थर्मल पावर प्लान्ट हो । उक्त परियोजना भारतको एनटीपीसी लिमिटेड र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीचको आधा आधा लगानी भएको बङ्गलादेश–भारत मैत्री पावर कम्पनी लिमिटेडले कार्यान्वयनमा ल्याएको हो । यी परियोजनाले यस क्षेत्रमा कनेक्टिभिटी र ऊर्जा सुरक्षालाई सुदृढ पार्नेछन् । 

पछिल्लो दशकमा बङ्गलादेश–भारत मैत्री संवादले दुवै देशबीच द्विपक्षीय सम्बन्धहरूलाई सुदृढ बनाउन महत्वपूर्ण मञ्चका रूपमा काम गरेको छ । बीएनएन न्युजका अनुसार यो वर्षको संवादको विषय ‘बृहत् र पारस्परिकरूपमा लाभदायक साझेदारीलाई बढाउने’ रहेको छ ।