धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक पटक–पटक अवरूद्ध हुने गरेको छ । उपमहानगरपालिकाका नगप्रमुख हर्कराज राई र वडाअध्यक्षहरुबीचको विवादले बैठक बैठक अवरूद्ध हुँदा धरानको विकासका योजनाहरु अवरूद्ध भएका छन् । बैठक नहुँदा महŒवपूर्ण निर्णयहरु हुन पाएका छैनन् । अघिल्लो बैठकको विषयलाई लिएर वडाध्यक्षहरु उपस्थित नहुँदा बुधबारको बैठक पनि हुन सकेन । एक पटक मात्र होइन, पटक–पटक यसरी बैठक रोकिँदाको बेफाइदा नगरवासीलाई भइरहेको छ । यस्तो विषयमा जनप्रतिनिधिहरु गम्भीर बन्न जरूरी छ । वडाध्यक्षहरु र नगरप्रमुखबीचको विवादले धरानको विकास अवरूद्ध हुनुहुँदैन । नगरप्रमुख र वडाध्यक्ष दुवै पक्षले धरानको विकास अवरूद्ध भएको विषयमा मनन् गरी आफ्नो हठ त्याग्नु आवश्यक छ ।

धरानलाई कुनै समय विकासको नमुना सहरका रुपमा चिनाइन्थ्यो । नगरपालिका र स्थानीय नागरिक मिलेर विकासका काम गरेको भनेर देशमै चर्चाको विषय हुन्थ्यो धरान । पछिल्लो समय धरानमा राजनीतिक दलहरुले सही नेतृत्व दिन नसक्दा विकासको गति ओरालो लागिरहेको छ । दलहरुको अकर्मन्यताको आक्रोशमा धरानवासीले स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई उपमहानगरको नगरप्रमुखमा विजयी गराएका डेढ वर्ष भयो । नगरप्रमुखमा राईले जितेपछि धरानको विकासमा केही फरक हुने आशा गरेका नगरवासीले फेरि पनि निराश नै हुनु परिरहेको छ । नगरको नेतृत्व गर्ने मान्छेले सबैसँग छलफल गरेर विकासमा एकभई अघि बढ्नु पर्नेमा नगरप्रमुख राईले वडाध्यक्षहरुलाई नगन्ने र अनेक लाञ्छना लगाउने गरेका छन् । उनले राजनीतिक दल र जनप्रतिनिधिलाई गालीगलौज गरेका उदाहरण त प्रशस्तै छन् । सामाजिक सञ्जालमार्फत् नै उनी गाली गरिरहेका हुन्छन् । राजनीतिक दलका उम्मेदवारका रुपमा निर्वाचित भएर आएका वडाध्यक्षहरु पनि नगरप्रमुख राईसँग प्रतिवादमा उत्रिन्छन् । यसरी दुई पक्षीयरुपमा विवाद उत्पन्न हुन थालेको धेरै समय भइसक्यो । जनप्रतिनिधिहरुको विवादले यस्तो समस्या उत्पन्न हुन थालेको उनीहरु निर्वाचित भएदेखि नै हो । यस्तो अवस्था अझै कहिलेसम्म रहने हो, टुङ्गो छैन । यो प्रवृत्तिको अन्त्य नहुने हो भने धरान विकासको गतिमा अझै पछि धकेलिने निश्चित छ । त्यसैले यो विषयमा धरानको नागरिक समाज पनि सचेत हुनु आवश्यक छ ।

विगतमा पूर्वी पहाडको शैक्षिक तथा व्यापारिक केन्द्र मानिने धरान पछिल्लो समय उजाड बनिरहेको छ । धरानले न पहिला जस्तो व्यापारिक केन्द्रको पहिचान स्थापित गर्न सकेको छ, न त शैक्षिक वा स्वास्थ्य केन्द्रको । पर्यटनको विकासका लागि पनि धरानले खासै काम गर्न सकेको छैन । धरान यसरी सुस्ताउँदै जानुको कारण यहाँको नेतृत्व सही हुन नसक्नु हो । धरानवासीमा निराशा बढ्दै जानुको कारण पनि नेतृत्वको खडेरी नै प्रमुख रुपमा देखिन्छ । एकातिर दूरदृष्टि भएको नेतृत्वको अभाव र अर्कातिर भएको नेतृत्व पनि आशालाग्दो नहुँदा धरानवासी सधैँ नेतृत्वदेखि निराश बन्दै आएका छन् । नगरवासीको यो निराशाको गति अझै कति बढ्ने हो, त्यो यहाँको नेतृत्वको कामले निर्धारण गर्ने कुरा हो । धरानको विकास ओरालो लाग्नुमा यहाँका राजनीतिक दलहरु मात्र दोषी छैनन्, यहाँको समाजले बेलैमा दलहरुलाई खबरदारी गर्न नसक्दा पनि समस्या उत्पन्न भएको हो । अब यो अवस्था कहिलेसम्म रहने हो, धरानको भविष्य त्यससँगै जोडिएको छ । धरानको विकास अवरूद्ध हुन नदिनका लागि अहिले नै जनप्रतिनिधिहरुलाई सचेत गराउनु आवश्यक छ । त्यसका लागि नागरिक समाज र समग्र नागरिकको भूमिका महŒवपूर्ण हुन्छ । धरानवासी एक भएर खबरदारी गर्ने हो भने यहाँको विकास अवरूद्ध गर्न कसैले सक्दैन । त्यसैले सबैले खबरदारी गरौँ ।