अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्याउन अनुमति दिने एक सम्झौता सुरु गर्नुभएको छ । गाजाबाट इजराइली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् । 

इजराइलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताएका छन् ।

अक्टोबर ७ यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको मृत्यु भएको छ भने हमासले करिब दुई सयलाई बन्धक बनाएको छ । 

त्यसयता इजराइलले प्यालेस्टिनी क्षेत्रलाई घेरा हालेको छ र हवाई हमला सुरु गरेको छ । साथै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी लगाएको छ र अपेक्षित जमिन आक्रमणको तयारीका लागि दशौँ हजार सेनालाई सीमामा परिचालन गरेको छ ।