झापा/चाडपर्वको अवसरमा हुने सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान गरिएको छ। मेचीनगर नगरपालिका वडा नम्बर–६ काँकडभिट्टामा चालकलाई जिम्मेवार बनाउन र उनीहरूको आत्मविश्वासलाई बढाउन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आज सम्मान गरेको हो । 

बडादसैँ, दीपावली तथा छठपर्वलाई लक्षित गरेर सङ्गठनले थालेको ‘सुरक्षित यात्राका सारथी’ नारासहितको कार्यक्रममा काँकडभिट्टाबाट महेन्द्रनगर, नेपालगन्ज, चरिकोट र पोखराजस्ता लामा रूटमा सवारी कुदाएर हालसम्म कुनै दुर्घटना तथा ट्राफिक कारबाहीमा नपरेका चालकलाई अबिर, मालाले सम्मान गरिएको छ ।

सम्मानित हुने चालकमा श्यामबहादुर गुरुङ, हरेराम खड्का, गोविन्द ढकाल, सचिन महत, रविन रिजाल, दीपक गौतम, जगत् पौडेल र ढुवानी मजदुर विर्खबहादुर गिरी रहेका छन्।दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आठजना चालकलाई सम्मान गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताएका छन् ।

 उनले नैतिकता,मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकले देखाएको इमान्दारिताले समाजमा अरु मान्छेलाई पनि सहयोगी बन्न प्रेरणा मिल्ने आशा व्यक्त गरेका छन्। कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द बुढाथोकीले सवारीमा यात्रुमैत्री व्यवहार गर्न सवारी चालक, सहचालक र परिचालकलाई आग्रह गरेका छन् ।