धरान प्रहरीले चाडपर्व लक्षित २४ घण्टे 'क्विक रेस्पोन्स टिम' (क्युआरटी) परिचालन गरेको छ ।

प्रदेश प्रहरीमार्फत ३० बढी प्रहरी परिचालन गर्दै चाडपर्व लक्षित सुरक्षा संवेदनशीलतालाई मध्येनजर गरेर 'क्युआरटी' परिचालन गरिएको डिएसपी नवराज मल्लले जानकारी दिए ।

सन्चारकर्मीमाझ चाडपर्व लक्षित शुभकामना आदानप्रदान र सुझाव सङ्कलन कार्यक्रममा डिएसपी मल्लले धरानको छाताचोक र धरान १६ स्थित जोरसखुवालगायतका ४ स्थानमा १८ घण्टा नियमित प्रहरी परिचालन गरिएको बताए ।

उनले चाडपर्व लक्षित सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै धरानका बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसललगायतका क्षेत्रमा प्रहरी जनशक्ति परिचालन गरिएको बताए ।

जिल्ला सुरक्षा समन्वय समितिले निर्णय गरेअनुसार १० बजेभन्दा पछाडि बजार, पसल बन्द गर्न गरेको निर्णय कार्यान्वयन गर्ने बताए ।

'सुरक्षा संवेदनशीलता जति छ, धरानको आर्थिक संवेदनशीलता उत्ति नै छ, प्रहरी त्यसमा बाधक हुँदैन,' डिएसपी मल्लले भने, 'तर सुरक्षाका विषयमा इलाका प्रहरी कार्यालय कम्पर्माइज गर्दैन ।'