काठमाडौँ/चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो। पदक विजेता नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलप्रेमीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

एसियाडअन्तर्गत करातेकी एरिका गुरुङले नेपाललाई रजत पदक दिलाएकी थिइन । १९ वर्षीय एरिकाले कुमुतेतर्फ ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी हुन् । सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पटक प्राप्त गरेको हो । सन् १९९८ मा नेपालकी तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

त्यस्तै पहिलो पटक सहभागी भएको महिला कबड्डी टोलीले पनि नेपाललाई  कास्य पदक दिलाएको छ।  नेपालले यसअघि १८औँं संस्करणको एसियाडअन्तर्गत प्याराग्लाइडिङको टिम इभेन्टमा रजत पदक जितेको थियो। अहिलेसम्म नेपालले एसियाडमा तीन रजत र २३ कास्य पदक जितेको छ। यसपटक एसियाडमा नेपालले विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।