वराहक्षेत्र, सनुसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–११ पट्वानीका २३ वर्षीय राजेशकुमार स्वर्णकारले प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको आक्रमणमा ज्यान गुमाउनु परेको छ । कामसँगै अध्ययनका लागि गएका राजेश गत भदौ २६ गते इजरायल पुगेका थिए । त्यहाँ पुगेसँगै काममा लागेका उनी परिवारको सम्पर्कमै थिए । राम्रैसँग दिनहरू गुजारिरहेका थिए ।

परिवारका साइँलो छोरा उनी इजरायल गएसँगै घरमा पनि खुसीको आशा पलाएको थियो । तर, दुर्भाग्य गत शनिबारदेखि उनको परिवारसँग सम्पर्क टुट्यो । त्यहीबेला इजरायलमाथि प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले भीषण आक्रमण गरेको खबर संसारभर फैलियो । इजरायलमा भएको आक्रमणको खबरसँगै परिवारका सदस्य चिन्तामा परे । उनीसँग परिवारको सम्पर्कको लागि कयौं प्रयास भयो । तर, सम्पर्क हुन सकेन । त्यसपछि राजेशका बुबा राजकुमार र आमा शनिबार साँझ छोराको दीर्घायुको कामनासहित पूजा आराधना गर्न घरनजिकको मन्दिरमा पुगे । इजरायलमा हमासले गरेको आक्रमणको खबर सुनेको र छोरासँग पनि सम्पर्क नभएको अवस्थामा चिन्तित बनेका उनीहरूले छोरालाई केही नहोस् भनेर भगवान् पुकारे । तर, दुर्भाग्य ! मन्दिरबाट फर्किँदै गर्दा छोराको मृत्युको खबर सुन्नुप¥यो, त्यसपछि राजेशको आमाको होसहवास उड्यो ।

‘राजेशको दीर्घायुको कामना गर्दै माइलो विनोद र कान्छा भाइ चन्दनलाई लिएर ममीबुबा साँझमा मन्दिर जानुभएको थियो’ जेठा दाइ मुकेशले भने, ‘मन्दिरबाट आउँदै गर्दा छिमेकी भाउजूले कान्छो भाइलाई इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गरेको नाम देखाइदिनुभएछ । भाइले राजेश दाइ रहनुभएन भनेपछि आमा बेहोस हुनुभयो । अहिले त घरमा असाध्यै पीडा छ, गाउँ पूरै शोकमा डुबेको छ ।’

शुक्रबार मात्र मुकेशसँग राजेशको कुरा भएको थियो । ‘भाइले होटलमा बस्न भन्यो । २५ सय भाडा लाग्छ भनेको थियो । दाइ, भोलि कुरा गरौंला, अहिले खाना खाने बेला भयो भन्यो । शनिबार यहाँ छुट्टी हुन्छ, अलि लामो गफ गरौंला भनेको थियो’–मुकेशले गहभरि आँशु पार्दै भाइसँग भएको संवाद सुनाए । चार दाजुभाइमध्ये राजेशका जेठा दाजु मुकेश वराहक्षेत्र नगरपालिकाका इञ्जिनियर हुन् । माइलो विनोद पनि इञ्जिनियर नै छन् । उनले कन्सल्टेन्सी चलाउँदै आएका छन् । कान्छा भाइले पनि इञ्जिनियरिङ पढिरहेका छन् । कृषि विज्ञान अध्ययनका लागि इन्ट्रान्समा राम्रो अङ्क ल्याएपछि राजेशले सुदूरपश्चिम विश्वविद्यालयमा छात्रवृत्ति पाएका थिए । पढाइमा अब्बल रहेका राजेशले टीकापुरमा बसेर पढेका थिए । पढाइमा अब्बल हुनाले राजेशलाई कृषिको क्षेत्रमा लगाउने परिवारको धोको थियो । इजरायलमै उनको सपना समाप्त भयो ।

राजेशका बुबा राजकुमार कोसी गाउँपालिकाका कर्मचारी हुन् । राजकुमारको आँखा ओभाएका छैनन्, राजेशको आमा पनि मूच्र्छा परेकी छन् । ‘बुबा सुगर तथा प्रेसरका बिरामी हुनुहुन्छ । भाइको निधनको खबरले उहाँका आँखा ओभाएका छैनन् । आमा मूच्र्छा परेको प¥यै हुनुहुन्छ । पानी छम्केर राख्नुपरेको छ । छरछिमेक तथा आफन्तहरूले आएर आमाबुबालाई सम्झाउँदै हुनुहुन्छ’–मुकेशले रुँदै भने । इजरायलमा आतङ्ककारी हमला भएको भन्नेबारे आफूले शनिबार राति मात्र थाहा पाएको मुकेशले बताए । ‘शनिबार राति १० देखि ११ बजेको बीचमा मलाई श्रीमतीले आत्तिँदै फोन गरिन् । राजेश बाबुलाई फोन गर्नु न भनिन् । मैले किन ? के भयो र भनेँ ? मलाई बाबुजीले भन्नुभएको, बाबुहरू बसेको ठाउँमा द्वन्द्व भयो रे, हल्ला राम्रो छैन भनिन् । त्यसपछि मैले म्यासेन्जरमा फोन गरेँ । उसको सम्पर्क नम्बर हामीसँग थिएन । मैले माइलो भाइलाई पनि भाउजूले भनेको कुरा सुनाएर फोन गर्न भनेँ । यति हुँदासम्म हामीले घरमा भनेका थिएनौँ ।’ आइतबार बिहान युट्युबमा इजरायलका दृश्य हेरेपछि होसहवास उडेको उनले बताए ।

‘मेरो फुपाजु दुबईमा हुनुहुन्छ, उहाँलाई पनि बुझ्न लगायौं, तर केही पत्ता लागेन’ मुकेशले भने, ‘भाइको एक लेडिज साथी काठमाडौँमा छिन्, उनीसँग सम्पर्क गरेपछि राजेशसँग सम्पर्क नभएको र सम्पर्क गर्ने प्रयास भइरहेको जवाफ पायौँ ।’ राजेशकी तिनै साथीमार्फत् परिवारका सदस्यले कलेजका प्राध्यापकको नम्बर पाए । ‘भाइ राजेशको फोन लाग्दैन भनेर प्रिन्सिपललाई भन्यौँ’ राजेशका माइला दाइ विनोदले भने, ‘उहाँले त्यहाँ फोनमा कुरा गर्न पाइँदैन, फेसबुकमा जोडिनुहोस् भन्नुभयो । इजारायलमा पढ्ने विद्यार्थीहरूको म्यासेन्जर ग्रुप रहेछ । हामीलाई पनि त्यो ग्रुपमा जोडिदिनुभयो । पटक–पटक फोन गरे पनि ग्रुपमा कसैले फोन उठाएनन् ।’ भाइसँग कुरा हुन्छ कि भनेर फोन गर्दा नउठेपछि निराश भएको उनले बताए । ‘राजेशकै एक साथीले यहाँ फोनमा बोल्न मिल्दैन भनेर म्यासेज गरे । राजेश कता छ भन्दा सम्पर्क छैन भन्ने जवाफ आयो । भाइका साथीहरूले सम्पर्क नम्बर पनि दिए, तर फोन लागेन । आइतबार दिनभरि नै त्रासमा बस्यौँ ।’

आइतबार साँझ मृत्युको खबर आएपछि उनको परिवार मात्र हैन, सिङ्गो गाउँमा सन्नाटा छ । वराहक्षेत्र नगरपालिका–११ का वडाध्यक्ष कृष्णकुमार महतोले राजेशको मृत्युले वडा शोकमग्न भएको बताए । ‘परिवारसँग पनि कुराकानी भइरहेको रहेछ । अचानक हिजो बिहान त्यस्तो घटना भयो’ वडाध्यक्ष महतोले भने, ‘अहिले परिवारमा रुवाबासी छ । सिङ्गो गाउँ शोकमा डुबेको छ ।’ स्वर्णकारको घरमा आइतबार सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहित सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीको टोलीले मृतकको आफन्तहरूसँग भेटेर गएको छ ।