धरान उपमहानगरपालिकामा मासु व्यवसायीहरूले सुँगुरको मासुको मूल्य दुई महिनामा दुई पटक वृद्धि गरेका छन् । यसले उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
मासु व्यवसायी सङ्घको नेतृत्वमा मासुको मूल्य १ सय रुपैयाँले वृद्धि गरेपछि धरान उपमहानगरपालिकाले सर्वपक्षीय छलफल राख्दै प्रतिकिलो ६० रुपैयाँ मात्रै वृद्धि गर्ने निर्णय गरेको छ । जसमा मासु व्यवसायी सङ्घले भने निर्णयप्रति असन्तुष्ट जनाएको छ । उसले आफ्ना मातहतका सबै मासु व्यवसायी र अन्य मासु व्यवसायीलाई पनि पसल बन्द गरी सहयोग गर्न आग्रह गरेको छ । मासु व्यवसायीहरूले दुई महिनाअघि मात्रै सुँगुरको मासुमा प्रतिकिलो ४० रुपैयाँ वृद्धि गरी ४ सय रुपैयाँ पुर्याएका थिए ।
तत्कालीन समयमा उपमहानगरले नै मासुको मूल्य वृद्धि गर्न सहमति जनाएको थियो । पुनः मासु व्यवसायीले प्रतिकिलो १ सय रुपैयाँ वृद्धि गरी ५ सय रुपैयाँ पुर्याउने धरान मासु व्यवसायी सङ्घको निर्णयको चौतर्फी विरोध भएको थियो । सोही विरोधपश्चात् नगरले सोमबार धरानका मासु व्यवसायीसहितको सर्वपक्षीय छलफल राखेको थियो । छलफलमा उपमहानगरपालिकाले प्रतिकिलो ६० रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ । मासु व्यवसायीले असहमति जनाउँदै ८० रुपैयाँ वृद्धि हुनुपर्ने माग गरे । ‘दुई महिनाअघि ३ सय ६० बाट ४ सय पुर्याइएको थियो । फेरि १ सय रुपैयाँ वृद्धि गरेपछि छलफलमा बोलायौँ’ धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले भने, ‘व्यवसायीले ८० रुपैयाँ बढाउनुपर्ने अडान लिए, नगरले ६० रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ ।’
उनका अनुसार जिल्ला प्रशासन कार्यालय, सुनसरी उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च र मासु व्यवसायीका प्रतिनिधिबीच सर्वपक्षीय छलफल भएको थियो । अधिृकत सापकोटाले भने, ‘सबै पक्षले प्रतिकिलो ४ सय ६० रुपैयाँमा हस्ताक्षर गरेका छन् । व्यवसायीले असहमति जनाए ।’ उनले नगरले ४ सय ६० रुपैयाँमा सुँगुरको मासु बिक्री गर्न सूचना पनि प्रकाशित गरेको बताए ।
उक्त निर्णयमा असहमति जनाएको धरान मासु व्यवसायी सङ्घले मासु पसल बन्द गरेर आन्दोलन गर्ने घोषणा गरेको छ । सोमबार नै मासु व्यवसायी सङ्घले पत्रकार सम्मेलन गरीे सुँगुरसहित अन्य कुनै पनि मासु पसल नखोल्ने जनाएको छ । सङ्घका अध्यक्ष मदनकुमार तामाङले भने, ‘सबै किसिमका पसल बन्द गर्छौं । कसैले पसल खोलेको पाइएमा कारबाही गर्छौं ।’ सङ्घको विज्ञप्तिमा ‘धरान नगर सरकारले मूल्य समायोजनको विषयमा असोज २२ गतेको छलफलमा एकलौटीरूपमा मूल्य घटाई बिक्री वितरण गर्ने÷गराउने निर्णयले सम्पूर्ण मासु व्यवसायीहरूमा प्रत्यक्ष असर परी घाटा व्यहोर्नु परेको’ उल्लेख छ । यता ८० रुपैयाँ वृद्धि गर्दा उपभोक्ता प्रत्यक्ष मारमा पर्ने नगरको भनाइ छ ।