विजयपुुर । कोशी लोकमार्गअन्तर्गत छ लेन सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको सुनसरीको इटहरी–२० स्थित तरहरादेखि सेउती खोलासम्मको ठेकेदार प्रशासनको छलफलमा पनि अनुपस्थित भएको छ ।

जिल्ला प्रशासन कार्यालयको निमन्त्रणामा आउने जानकारी गराए पनि अन्तिम समयमा फोन स्विचअफ गरी अनुपस्थित भएको हो । अनुपस्थित भएपछि कानूनी कारबाही अगाडि बढाउने तयारी गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सरोकारवालासँगको छलफलमा ठेकेदार कम्पनी हम धुङ थोकर एन्ड प्यासिफिक जेभीका प्रतिनिधि अनुपस्थित भएका हुन् । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा भएको छलफलमा ठेकेदार कम्पनीसँग छलफल हुने भनिएको थियो ।

ठेकेदार कम्पनी उपस्थित नभएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्न रानी– विराटनगर– इटहरी– धरान आयोजनालाई निर्देशन दिने निर्णय गरेको छ । छलफलमा उपस्थित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले आयोजनालाई निर्देशन दिने निर्णय गरेको बताए । उनका अनुसार समयमा सडक निर्माण कार्य सम्पन्न नगरेमा ठेकेदार कम्पनीविरुद्ध कानूनी कारबाही अगाडि बढाउने मौखिम सहमति भएको छ । उनले भने, ‘प्रशासनले आयोजनालाई निर्देशन दिएको छ । आयोजनाले ठेकेदारविरुद्ध कानूनी कारबाही अघि बढाउने मौखिक सहमति भएको छ ।’ उक्त सडक–खण्ड निर्माणका लागि हम धुङ थोकर एन्ड प्यासिफिक जेभी कम्पनीले २०७७ सालको असार मसान्तमा ठेक्का प्राप्त गरेको थियो ।

तीन वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको भए पनि निर्माण अलपत्र छाडी हाल ठेकेदार कम्पनी बेपत्ता भएको छ । बिहीबारको बैठकको निर्णयमा ‘उक्त सडक–खण्डबाट पहाडी लोकमार्गहरूसँग समेत जोडिने तथा सुनसरी जिल्लाको एक मात्र ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म बिरामी लिएर जाने मूल सडकसमेत रहेकोले नागरिकहरूको स्वास्थ्य संवेदनशीलता, सुरक्षित यात्रा र सहज पहुँचसमेतलाई मध्यनजर गरी सम्बन्धित निर्माण कम्पनीमार्फत् तुरुन्त कार्य सुचारु गरी सम्झौताअनुसार निर्माणकार्य सम्पन्न गर्न रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनालाई निर्देशन दिने’ उल्लेख छ ।

यसअघि यातायात व्यवसायीले सडकको अवस्थाका विषयमा प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ध्यानाकर्षण गराएपछि सरोकारवालासँग छलफल राखिएको थियो । छलफलमा श्रीकृष्णदल गण इटहरीका अमित लामा, जिल्ला प्रहरी कार्यालय सुनसरीका विपिन रेग्मी, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेड क्वार्टर सुनसरीका लकेशकुमार तुम्बाहाम्फे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका तिलक शर्मा प्रसाईं, आयोजनाकी इन्जिनियर प्रियङ्का झाको उपस्थिति रहेको थियो । यस्तै सुनसरी क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधिसभा सदस्य जयकुमार राई, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, यातायात व्यवसायी तथा सङ्घ–संस्थाको उपस्थिति रहेको थियो । जेभीले तीन वर्षमा सम्पन्न गर्ने गरी २०७७ सालको असार मसान्तमा ठेक्का सम्झौता गरिएको ७ किलोमिटर सडक हालसम्म सम्पन्न गरेको छैन ।

सडककै कारणले पर्यटक घटे
सडककै कारणले पर्यटकको आगमनमा कमी आएको होटल व्यवसायी समितिले जनाएको छ । समितिका अध्यक्ष मनोजकुमार मेन्याङ्बोले बिहीबार विज्ञप्ति जारी गरी सडक निर्माण कार्य भद्रगोल बनाएर छोड्नाले पर्यटकहरूको आगमनमा बाधा पुगेको उल्लेख गरेका छन् । अस्तव्यस्त सडकका कारण धरान आउने पर्यटकहरूको सङ्ख्यामा कमी आई पर्यटन एवम् होटल व्यवसाय धरासायी अवस्थामा पुगेको विज्ञप्तिमा भनिएको छ । सडककै कारण धेरै यात्रुहरूले दुर्घटनाबाट ज्यान गुमाउनु परेको उल्लेख छ । निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न समितिले माग गरेको छ । समितिले यातायात व्यवसायीको मागमा ऐक्यबद्धता जनाएको छ ।

राज्यको कमजोर संयन्त्रका कारणले सडक बनेनः दल
राजनीतिक दलले राज्यको कमजोर संयन्त्रका कारणले सडक नबनेको जनाएका छन् । बिहीबार धरानका राजनीतिक दलले पनि संयुक्त विज्ञप्ति जारी गर्दै राज्यको कमजोर संयन्त्रका कारणले सडक नबनेको जनाएका छन् । विज्ञप्तिमा ‘पूर्वी पहाडी जिल्ला जोड्ने राजमार्ग निर्माण प्राथमिकतामा रहनु पर्नेमा राज्यको कमजोर संयन्त्र तथा ठेकेदार कम्पनीको गैरजिम्मेवारीपनले सडक समयमा निर्माण हुन नसकेको’ उल्लेख गरेका छन् । उक्त क्षेत्रमा काम गर्न कुनै पनि बाधा नरहेको तर, जिम्मेवार सरकारी पक्ष तथा ठेकेदार कम्पनीले समय सीमाभित्र काम नसकी ढिलासुस्ती गर्नुमा सरकारी पक्ष र ठेकेदार पक्षबीच लेनदेनको असमझदारी रहेको राजनीतिक दलले आरोप लगाएका छन् । एमाले धरान अध्यक्ष हर्कजङ एभेङ, काङ्ग्रेस धरान सभापति श्याम पोखरेल, माओवादी केन्द्रका धरान अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) जसपा धरान अध्यक्ष ताजुव लिम्बू र एकीकृत समाजवादी पार्टीका धरान अध्यक्ष रेवतरमण राईले संयुक्त विज्ञप्ति जारी गर्दै यातायात व्यवसायी तथा मजदुरले ध्यानाकर्षणसहित राखिएका माग र कार्यक्रमहरूप्रति दलको ऐक्यबद्धता रहेको उल्लेख गरेका छन् । दलको तर्फबाट पटक–पटक सरकारलाई यस विषयमा लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराएको समेत उल्लेख गरेका छन् । सडक निर्माण कार्य सम्पन्न गर्न सरकारी पक्षसँग दलले माग गरेका छन् ।

व्यवसायीका सामानमा क्षतिः उवा सङ्घ
ठेकेदार कम्पनीको लापरबाहीले इटहरी–२० स्थित तरहरादेखि सेउती खोलासम्मको सडकका खाल्डाखुल्डीले व्यवसायीका सामानहरू टुटफुट भई क्षति भएको सुनसरी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

बिहीबार सङ्घले विज्ञप्ति जारी  गरी सडकका खाल्डाखुल्डीले सामान टुटफुट हुँदा व्यवसायी मारमा परेको जनाएको छ । निर्माणाधीन सडकको ठेकेदार कम्पनी हिम धुङ थोकर एन्ड प्यासिफिक जेभीको लापरबाहीका कारणले सडक निर्माण ढिलाइ गरेपछि विज्ञप्ति जारी गर्दै निर्माण छिटो गर्न पनि माग गरेको छ । बिहीबार सुनसरी उद्योग वाणिज्य सङ्घले विज्ञप्ति जारी गर्दै सडक निर्माण गर्न माग गरेको हो । सङ्घका अध्यक्ष विजय श्रेष्ठले जारी गरेको विज्ञप्तिमा तरहराको पानीपियादेखि सेउती पुलसम्मको सडक निर्माण कार्य पूर्णरूपमा ठप्प रहेको उल्लेख गरेको छ । सडक निर्माण नहुँदा सवारीसाधन आवत–जावतमा कठिनाइ भएको छ । धुलो तथा हिलोको कारण यात्रुहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको र दैनिक दुर्घटनाबाट यात्रीहरूले अकालमा ज्यान गुमाइरहेको विज्ञप्तिमा उल्लेख छ । सडकमा हुने क्षतिको जिम्मा सम्बन्धित निकायले लिनु पर्ने सङ्घले जनाएको छ ।