‘म पागल हुँ, पागल भनिदेऊ म जे हुँ त्यही भनिदेऊ....’, ‘कुन सहरमा घुम्दै होला मलाई छुने मन..., ‘मन त तिम्रो पत्थरको भित्ता भो...’, तिम्रोजस्तो चोखो माया अन्त कहीं पाइँदैन..., ‘भेटे तिमीलाई त्यो पलमा अन्जान थिए म जुनबेला...’ लगायतका दर्जनौं कर्णप्रिय र कालजयी गीतमा सुमधुर आवाज भरेका लेखु विवश आज भोलि कुन सहरमा घुम्दै होलान् ?  

उनका गीत मनपराउनेहरुको साझा प्रश्न हो यो । कुनै बेला सांगीतिक आकाशका हस्ती राजेश पायल राईलाई समेत उछिनेर रेडियो नेपालको प्रतियोगितामा उत्कृष्ट बनेका लेखु विवश आज उनैको आवाजमा सजिएको गीतको बोल जस्तै – कुन सहरमा घुम्दै होला ? भन्ने प्रश्न गरिरहनु परेको छ । जसले कुनै बेला लामो समयसम्म स्रोताको मन छोएको थियो । र, आज पनि उसैगरी कर्णप्रिय छ ।   

Lekhu Bibas Interview Blastkhabar (2)

‘बगिजाने खोला रैछ, बग्यो जिन्दगानी

जति हिंड्यो लेखिंदैछ दुखिया कहानी’ 

‘दुःखकै गीतहरु शक्तिशाली हुँदा रहेछन्,’ लेखु भन्छन्,‘ दुःखकै गीतहरु भन्दा मीठो संसारमा केही नहुने रहेछ ।’

गीतहरु पनि दुःखकै गाए । आफ्नो जीवन पनि उनले दुःखपूर्ण नै पाए । यम बरालको स्वरमा रहेको ‘बादलुको घुम्टोले इलाम बजार छोपिंदा...’ गीत खास लेखुका लागि लेखिएको थियो । ज्ञानेन्द्र गदालको शब्द र बुद्धवीर लामाको संगीतमा । तर यम बरालले गीत गाइसकेपछि लेखुमा खिन्नता छाएछ । उनी हतोत्साहित भएछन् । यो देखेर गीतकार गदालले लेखिदिए अर्को मधुर गीत– ‘कुन सहरमा घुम्दै होला मलाई छुने मन... । जसलाई बुलु मुकारुङले संगीत गरिदिए । लेखुलाई लेखु विवशका रुपमा चिनायो यो गीतले । र कालजयी बन्यो । 

Lekhu Bibas Interview Blastkhabar (3)

लेखु विवशले ०४७ सालमा स्वरपरीक्षा पास गरेर रेडियो नेपालमा पहिलो पटक गीतकार डम्बर पहाडीको शब्द, संगीतमा रहेको गीत ‘म पागल हुँ, पागल भनिदेऊ म जे हुँ त्यही भनिदेऊ....’ रेकर्ड गराए । पछि रेडियो नेपालद्वारा आयोजित प्रतियोगितामा गीतकार ज्ञानेन्द्र गदाल र बुलु मुकारुङको संगीतमा रहेको ‘कुन सहरमा घुम्दै होला मलाई छुने मन..., बोलको गीत गाए । प्रतियोगितामा उनी तेस्रो भए । पहिलो रिमा गुरुङ, दोस्रो सुरेश अधिकारी र उनी तेस्रो । सान्त्वना भने राजेश पायल राई भए । उनले गाएको गीत प्रतियोगितामा शब्द, संगीतमा पहिलो भएको थियो । 

‘कहाँ होला ढकमक प्रिती फुल्ने वन

जहाँजहाँ जान्छु त्यहीं लाग्छ नयाँपन’

गीतजस्तै लेखु विवश नयाँ ठाउँमा रोजगारी खोज्दै हिंडे । फिक्कल, धनकुटा, धरान, काठमाडौं, फेरि फिक्कल र अहिले पुनः धरानमा आएका छन् । 

‘थाहा छैन अन्त्य यसको यात्रा चलेकै छ 

निभाउ भन्छु हृदयमा आगो बलेकै छ’

Lekhu Bibas Interview Blastkhabar (1)

धरानमा रहेर अब लेखुले हृदयका आगो निभाउने प्रयत्न गर्ने छन् । ‘कुन सहर ...’ पछि उनको सांगीतिक जीवनमा टर्निङ प्वाइन्ट रहेको गीत ‘मन त तिम्रो पत्थरको भित्ता भो...,’ देशका एफएम रेडियोहरुले अत्यधिक रुपमा बजाएका थिए यो गीत । त्यही गीतका रचनाकार पर्वत सञ्जेलको सहयोगमा लेखु धरानमा रहेका छन् । उनले धरानमै रहेर केही प्रोजेक्ट गर्ने छन् । उनीसँग संगीतकार विकास राई छन् । 

लेखु विवशका गीतसंगीतको आरोह–अवरोह र नयाँ योजनाका बारेमा गरिएको कुराकानी भिडियोमा प्रस्तुत गरिएको छ । 



लेखु विवश बारे थप जानकारी यहाँ क्लिक गर्नुहोस् ।