विजयपुर । सुनसरीका विभिन्न चार स्थानबाट प्रहरीले लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विभिन्न मितिमा छुट्टाछुट्टै स्थानमा गरिएको प्रहरी कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् ।


कोशी गाउँपालिका–१ लौकही पूर्व बसपार्कबाट धरान उपमहानगरपालिका–१ का २५ वर्षीय अमर दर्जी ब्राउन सुगरसहित पक्राउ परेका छन् । पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका दर्जीलाई शंका लागेर जाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको ५.३४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।


त्यस्तै, इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित रबिन भुजेलको घरबाट तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा प्रहरीले घर खानतलासी गर्दा ०.९९ ग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधिसहित १ हजार ७७७ रुपैयाँ बरामद गरेको हो ।


पक्राउ पर्नेमा घरधनी ३५ वर्षीय रबिन भुजेल, २७ वर्षीय किशोर राई र इटहरी–४ का २२ वर्षीय विवेक माझी रहेका छन् ।


यसैगरी, बराहक्षेत्र नगरपालिका–११ खुनियाधारबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका–१ का २६ वर्षीय जीवन उराँवलाई जाँच गर्दा उनको साथबाट ०.८१ ग्राम उक्त पदार्थ फेला पारेको जनाएको छ ।


त्यस्तै, देवानगञ्ज गाउँपालिका–५ पालटोलबाट गाँजासहित तीन जना पक्राउ परेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेको सिटी सफारी र त्यससँगै रहेका दुई मोटरसाइकल जाँच गर्दा सिटी सफारीमा लोड गरिएको ४ किलो ६० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेमा सिटी सफारी चालक बर्जु गाउँपालिका–५ का २७ वर्षीय डोमा पासवान, मोटरसाइकल चालक २३ वर्षीय पवनकुमार यादव र भारतीय नागरिक २३ वर्षीय सोनु यादव रहेका छन् । उनीहरूसँगै सिटी सफारी र दुई मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


पक्राउ परेका ९ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।