हालै देशमा नागरिकता विधेयक पास भएको छ । नागरिकता विधेयक पास हुने बित्तिकै नागरिकता पाउनबाट बञ्चित बनेकाहरू धेरैले नागरिकता पाएका छन् । नागरिकताका लागि रातभरसम्म लाइनमा उभिएको समाचारहरू पनि आए । नागरिकता लिनेको लाम देखिएपछि जिल्ला प्रशासन कार्यालयले पनि एक दिनमा निश्चित मानिसलाई मात्रै टोकनमार्फत् नागरिकता दिने भनी सार्वजनिक ग¥यो । एक प्रकारले भन्ने हो भने नागरिकता पाउनबाट बञ्चित बनेकाहरूको हकमा यो उदाहरणीय कार्य थियो । तर, यही नागरिकताका विषय बेला–बेला पेचिलो बन्ने गरेको छ । यस्तै उदाहरण बनेको छ, झापाको कचनकवल गाउँपालिका–१ (साविकको घेराबारी गाउँ विकास समिति–५) बाट नागरिकता लिएका रमेशकुमार शर्माको । उनको नागरिकताको अचम्मित पार्ने पक्ष के छ भने आफ्नै छोरीभन्दा आठ वर्षपछि नागरिकता लिएका छन् । जुन हेर्दै नसुहाउँदिलो देखिन्छ । शङ्का गर्ने ठाउँहरू प्रशस्त छन् । जबकि छोरीको नागरिकता दमक नगरपालिका–१२ बाट लिइएको छ । उनको नागरिकता भने झापाको सुदूरपूर्व दक्षिणको गाउँपालिकाबाट लिएका छन् । अझै अर्को अचम्म त के भने छोराको नागरिकता भने दमक–११ बाट लिइएको छ । उनको जन्मस्थान भने कनकाई नगरपालिका रहेको छ । नागरिकता लिने र दिनेबीचको तालमेल नै मिल्दैन ।

नागरिकता वास्तविक नागरिकले पाउनै पर्छ । यो नैसर्गिक हक हो । जन्मसिद्ध अधिकार हो । यो अधिकारलाई नेपालको संविधानले पनि प्रष्टसँग उल्लेख गरेको छ । नागरिकका मौलिक हकमै पर्ने नागरिकता हरेक नागरिकले १६ वर्ष उमेर पूरा भएपछि प्राप्त गर्छ । वंशजको आधारमा होस् वा जन्मका आधारमा नागरिकता भनेको त्यो देशको नागरिक हुनुको अर्थ हो । राष्ट्रको नागरिक हुनुको अर्थ हो । नागरिकताविहीन हुनु भनेको शरणार्थी हुनु हो । त्यसकारण नागरिकतासँगै उसका अन्य अधिकारहरू सुनिश्चित हुँदै जान्छन् । तर, यहाँ प्रश्न गम्भीर छ । यहाँ कस्ता जनताले नागरिकता पाइरहेका छन् ? रमेशकुमार शर्माले प्राप्त गरेको नागरिकतामाथि किन शङ्का उब्जिन्छ ? एउटै परिवारले फरक–फरक स्थानबाट नागरिकता पाउनुमा आशङ्का गर्ने ठाउँहरू प्रशस्त देखिन्छ । अझ छोरीभन्दा धेरै पछि प्राप्त गर्नुले अनेकन प्रश्न उठाएको छ । यसले कतै नागरिकता सीमित पैसामा बिक्री त भइरहेको छैन भन्ने प्रश्न उब्जाएको छ । कतै अन्य मुलुकका प्रजाले यहाँको नागरिकताहरू प्राप्त गरिरहेका त छैनन् भन्ने अहम् प्रश्न बन्दै आएको छ । त्यसो त थुप्रै अपराधमा संलग्न भएकाहरूको नागरिकता जाँच गर्दा यस्ता तथ्यहरू नभेटिएका होइनन् । हालै ६० किलोभन्दा बढी सुन पक्राउ भएको घटनामा पक्राउ परेको चिनियाँ नागरिकहरूसँग पनि नेपाली नागरिकता भेटिएको छ । यसले पनि हाम्रो नागरिकता कसरी बिक्री भइरहेको छ भन्ने प्रष्ट हुन्छ ।

नागरिकताले राष्ट्रको प्रतिनिधित्व गर्दछ । राष्ट्रको प्रतिनिधित्व गर्ने यस्तो महत्वपूर्ण कागजातमा किन यतिबिघ्न हेल्चेक्र्याइँ भइरहेको छ ? यसबारे गहिरो गरी छानबिन हुनुपर्छ । छानबिनका दायराहरू बढाउनुपर्छ । जसले जहाँबाट गल्ती गरेका छन्, उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । नागरिकता बिक्री गर्नु भनेको राज्य बिक्री गर्नुजस्तै हो । राज्यको नागरिक हुनुको अर्थ दिने कागजातमा जुन किसिमको खेलवाड हुँदै आइरहेको छ, त्यसप्रति गैरजिम्मेवार बन्ने हक कसैलाई छैन । नागरिकता दिने अधिकारप्राप्त गरेका अधिकारीहरू सबैलाई नै छानबिनको दायरामा ल्याइनुपर्छ । सामान्य कागजात ठान्ने प्रवृत्ति र पैसामा बिकाउ गरिएकै कारण नेपालको नागरिकताको दुरुपयोग व्यापक हुँदै आएको छ । यसप्रति सबै नै गम्भीर बन्न आवश्यक छ । नागरिकताले जसरी राष्ट्रको परिचय दिन्छ, त्यसरी नै नागरिक कसलाई बनाउने भन्ने विषयमा गम्भीर मनन् गर्न आवश्यक छ । सबै सचेत नबने भोलि यस देशमा गैरनागरिकहरू नागरिक बन्नेछन् भने वास्तविक नेपालीहरू अनागरिक बन्ने स्थिति नआउला भन्न सकिन्न ।