गायक दिव्यासन घिमिरेले कालजयी गीत ‘बोलाउँ भने तिमीलाई पाप लाग्ने डर’ बोलको गीतको कभर भिडियो सार्वजनिक गरेका छन् । 

जस योन्जन प्यासीका शब्दहरुमा दुर्गा खरेलको संगीत तथा गायकीमा रहेको गीतलाई दिव्यासनले कभर निर्माण गरेका हुन् । 

धरानस्थित न्यु भावना अडियो रेकर्डिङ स्टुडियोमा पुनःस्वरांकन गरिएको गीतमा गिटारमा रोशन शर्मा र किबोर्डमा हेम सुब्बाले साथ दिएका छन् ।

 

स्टुडियोमै छायांकन गरिएको भिडियोलाई सनम रानाले छायांकन गरेका छन् भने एडम लिम्बूले सम्पादन गरेका छन् । 

पर्यटकीय स्थल भेडेटार निवासी दिव्यासनले २०६४ मा लोकदोहोरी अडियो एल्बम ‘तिम्रो साथैमा’ बजारमा ल्याएका थिए । डेढ दशक बढीको औपचारिक सांगीतिक जीवनमा उनले दर्जनौं गीत सार्वजनिक गरिसकेका छन् । उनका ‘तिम्रो यादले..’, ‘कुन जुनीमा..’, ‘मोहनी लाग्ला है..’, ‘मायाको डोरो..’, ‘गोठाले दाइ..’ लगायतका गीतलाई दर्शक–स्रोताले मनपराएका छन् । 

दिव्यासनले आफ्नै युट्युब च्यानल ‘दिव्यासन’ मार्फत् कभर भिडियो सार्वजनिक गरेका छन् ।