एक साताअघि धरानको खानेपानीमा कोलिफर्मको मात्रा चाहिनेभन्दा बढी भेटिएको रिपोर्टहरू सार्वजनिक भए । ती रिपोर्टलाई धरानका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले ‘ऐरै गैरे, नत्थु जैरेले गरेको रिपोर्टलाई नमान्ने’ भन्ने आशयको अभिव्यक्ति दिए । नगर आफैले गरेको रिपोर्टलाई मात्रै आधिकारिक मान्छ भन्दै सामाजिक सञ्जालमा ध्वाँस दिए । तर, उक्त रिपोर्ट आएको एक साताभन्दा बढी बितिसक्दा पनि नगर आफैले सत्य–तथ्य के हो भन्ने विषयमा परीक्षण गर्ने हिम्मत देखाएको छैन । यहीबीचमा धरानका १२ वटा राजनीतिक दलहरूले नगर सरकारलाई तीन दिनभित्र खानेपानीको परीक्षण गरी रिपोर्ट सार्वजनिक गर्न माग गरेको छ । तर, माग सुनुवाइ हुने सम्भावना लगभग क्षीण देखिन्छ । नगरप्रमुखलाई फेसबुकमा विभिन्न आशयका स्टाटस लेख्नैमा फुर्सद छैन । जसले गर्दा धरानको मुख्य मुद्दा लगभग ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ । सामान्यतः राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड २०८० मा प्रति एक सय मिलिलिटर खानेपानीमा शून्य कोलिफर्म हुनुपर्ने प्रावधान छ । तर, धरानमा त्यसको मात्रा नमुना सङ्कलनअनुसार ५ देखि ३५ युनिटसम्म कोलोनी फर्मिन युनिट भेटिएको छ । यो भयावह अवस्था हो ।

नगरप्रमुखलाई १२ वटा राजनीतिक दलहरूले जे जति माग राखी ध्यानाकर्षण गराएका छन् । त्यसमा उनी संवेदनशील भई नगरबासीलाई आश्वस्त बनाउनका लागि पनि खानेपानीको परीक्षण आवश्यक छ । यसले उनको गरिमालाई घटाउँदैन, थप बढाउँछ । त्यसप्रति उनी संवेदनशील हुन सकेमा त्यसले समग्र धरानेको हित गर्छ । धरानको समग्र हितका लागि स्थानीय सरकारले थुप्रै कामहरू गर्न आवश्यक देखिँदै गएको छ । पछिल्लो एक वर्ष उनले खानेपानी ल्याउनमा खर्चिए । त्यसबेला खानेपानीको ट्रिटमेन्ट तथा अन्य समग्र पाटोहरूलाई चटक्कै भुले पनि अब भने मानिसको दैनिक जीवनयापनका लागि चाहिने जलमा शुद्धता आवश्यक पर्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि पानीको मापदण्डबारे स्पष्ट बोलेको अवस्था छ । पानीको स्रोत बढाउनका लागि नगरप्रमुखले जे जति कामहरू गरिरहेका छन्, त्यो पनि सह्रानीय नै कार्य हो तर, सबैभन्दा बढी ध्यान दिनुपर्ने पक्ष भनेको पानी उत्पादनका लागि कस्ता प्रकृतिका बिरुवाहरू जलाधार क्षेत्रमा उपयुक्त हुन् भन्ने विषयमा बढी गम्भीर भएको देखिएको छैन । स्रोत बढाउने नाममा स्रोत घटाउने खालका बिरुवा त रोपिएका छैनन्, यसबारे पनि अब चाहिँ मनन् गर्ने बेला भएको छ । धरानबासीलाई पानी पिलाउनका लागि उनी जुन किसिमले दत्तचित्त भएका छन्, स्वस्थ पानी पिलाउनका लागि पनि उत्तिकै दत्तचित्त हुन आवश्यक छ । एउटा नगरप्रमुखको जिम्मेवारी पानी ल्याउनु मात्रै हैन, त्यसको शुद्धताको जाँच गर्नु पनि हो । पानी खुवाउन जति संवेदनशील छन्, उति नै संवेदनशील पानीको शुद्धता परीक्षणमा पनि हुनुपर्छ । यसतर्फ नगरप्रमुखको ध्यान गएजस्तो देखिँदैन ।

धरानका राजनीतिक दलहरूको पनि आफ्नो जिम्मेवारी छ । नगरप्रमुखलाई माग गरिरहँदा यसअघि धरानमा कुनै न कुनै राजनीतिक दलहरूले नै प्रतिनिधित्व गरी धरानको जिम्मेवारी बोकेका थिए । सबैभन्दा बढी नेकपा (एमाले) ले त्यसको जिम्मेवारी पाएको थियो । कोलिफर्मको समस्या आजको होइन । फरक यति हो, हालका स्वतन्त्र नगरप्रमुखको पालामा आएको पानीमा बढी कोलिफर्म भेटियो होला । तर, विगतमा कोलिफर्म छँदै थिएन भन्ने चाहिँ होइन । त्यसकारण अरूलाई गलत देखाएर आफू चाहिँ त्यसबाट पन्छिन मिल्दैन । सबैले यसको जिम्मेवारी बहन गर्नै पर्छ । खानेपानीमा जुन किसिमको हेल्चेक्र्याइँ हुँदै आएको थियो । त्यसप्रति सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गरी अहिलेको समस्यालाई समाधान गर्नेतर्फ पनि लाग्नुपर्छ । हालका नगरप्रमुखले दलहरूसँग पनि सहकार्य गरी समाधानको उपाय खोज्नुपर्छ । समाधानका लागि दलहरू पनि उत्तिकै तयार हुनुपर्छ । निषेधको राजनीति गर्दा त्यसको कुनै न कुनै कोणबाट बेफाइदा धरानलाई नै हुने हो । त्यसमा नगरप्रमुखले सबैभन्दा बढी जिम्मेवारी लिई राजनीतिक दलहरूसँगको सहकार्यबाट समाधान निकाल्नु पर्छ । यो नै आजको उत्तम उपाय हो ।