धनकुटा । प्रतिनिधि सभा सदस्य एवम् पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले धनकुटामा प्रदेश नं. १ कै सबैभन्दा अग्लो गुम्बा निर्माण गर्न आफूले सहयोग गर्ने बताएका छन् ।

धनकुटा नगरपालिका वडा नं.४ भोटेचौतारोमा रहेको ह्रिन्छेन छ्योलिङ बौद्ध गुम्बाको पाँचौं वार्षिक साधारणसभाको उद्घाटनको क्रममा यस्तो प्रतिबद्धता गरे । राईले भने, ‘अघिल्लो कार्यकालमा कोरोनाको कारण गुम्बालाई लगानी गर्न सकिनँ, तर यस पटक भने जसरी भए पनि गुम्बाको निर्माण कार्य सम्पन्न हुने गरी लगानी गर्छु ।’ उनले थपे, ‘प्रदेशका माननीय निरन राईले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ प्रदान गर्ने वचन दिनुभएको छ, त्यसपछिको निर्माण कार्यका लागि म जिम्मा लिन्छु ।’ साधारणसभामा सहभागी गुम्बाका सदस्यहरूलाई ध्यानाकार्षण गराउँदै मन्त्री राईले भने, ‘अब भाषणले हैन, काम गरेर देखाउनु पर्छ । हाम्रो देशका नेताहरू भाषण मात्र गर्ने तर, काम नगरेको कारण देशको आम्दानी घटिरहेको छ । अब विधि र कानूनमा रेहर देशको आर्थिक विकास गर्नु जरुरी छ । ’ उनले भने, ‘हाम्रो आर्थिक अवस्था राम्रो भए एउटा गुम्बा निर्माण गर्नको लागि धेरैलाई गुहार्नु पर्ने थिएन । हामी गरिब भएकै कारण एउटा गुम्बा निर्माण गर्नको लागि पनि धेरै जनालाई गुहार्नु पर्ने अवस्था र बाध्यता छ ।’

मन्त्री राईले आफू देशको मन्त्री भएर मात्र हैन, प्रतिनिधिसभा सदस्य भएको नाताले संसारको विभिन्न देशमा जाँदा बौद्ध गुम्बाहरू देखेको बताए । ‘थुप्रै मानिसहरूले मलाई असल, इमान्दार, स्वाभिमानी, समाजसेवी भने, मैले सबै मान्छेको प्रगति र उन्नति गर्नको निम्ति पनि एउटा धर्ममा लाग्न जरुरी रहेको पाएँ । मैले देख्दा धर्महरूमध्ये सबैभन्दा राम्रो र व्यवस्थित हजारौं मान्छेहरूलाई लामबद्ध बनाएर शान्तिको मार्गमा डोर्याउने धर्म भनेको बौद्ध धर्म रहेको मेरो बुझाइ छ’–मन्त्री राईले थपे । 

अब सुखी जीवन कसरी बिताउने, मानिसहरूलाई एकताबद्ध गराएर कसरी अघि लाने भन्ने कुरा पूरा गर्न पनि यो गुम्बा छिटोभन्दा छिटो निर्माण गर्न जरुरी रहेको आफूले देखेको मन्त्री राईले बताएका छन् । गुम्बा निर्माण भएपछि आम नगरवासीलाई गुम्बामा आएर ध्यान, जप गरेर राम्रा विचारहरू सिक्न र धार्मिक अनुशासनमा लागेर समाज बदल्न गुम्बाले मद्दत पु¥याउनेछ भन्ने आफूलाई विश्वास लागेको राईले बताए । मन्त्री राईले भने, ‘धनकुटाको गहनाको रूपमा रहेको यस ह्रिन्छेन छ्योलिङ बौद्ध गुम्बालाई कसरी राम्रो बनाएर तमाम् बौद्ध धर्मावलम्बीहरूलाई कसरी आकर्षित गर्नेतर्फ सबै लाग्नुपर्ने उनले बताए ।

‘कोशी प्रदेश’ नामाङ्कनको विषयमा सर्वाधिक चर्चामा रहेका प्रदेश सांसद् निरन राई
 ह्रिन्छेन छ्योलिङ बौद्ध गुम्बाको पाँचौं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य निरन राईले भने, ‘प्रदेशको नाम राख्न एउटा राजनीतिक दल वा एक जना प्रदेश सांसद्ले मात्र सम्भव थिएन ।’ प्रदेशको नाम राख्नको निमित्त संविधान मै प्रष्ट उल्लेख के छ भने दुईतिहाइ बहुमतको आधारमा नाम तोकिनेछ, भनिएको छ । उनले भने, ‘प्रदेश सभामा नेतृत्व गर्ने राजनीतिक दलहरू विशेष गरेर नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्टिूय प्रजातन्त्र पार्टी सहित चारवटा राजनीतिक दलहरूको बीचमा प्रदेश र केन्द्रस्तरका नेताहरूको सहमतिको आधारमा ‘कोशी प्रदेश’ नाम राखिएको हो ।’

राईले भने, ‘पार्टीले निर्णय गरेपछि कुनै पनि प्रदेशसभा सदस्यले पार्टीको निर्णयभन्दा बाहिर जान मिलेन, मैले पनि कोशी प्रदेशको पक्षमा उभिनु पर्ने अवस्था आयो, यो मेरो बाध्यता हो ।’ १ नम्बर प्रदेश सभामा रहेका ९३ जना सांसद्हरूमध्ये ८२ जनाले ‘कोशी प्रदेश नामाङ्कन’ को पक्षमा समर्थन गरेर १ नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ पास गरिएको छ । राईले भने, ‘यो नाम निकै लामो बहस र छलफलपछि आएको हो । पछिल्लो समयमा लोकतन्त्रप्रति निकै गम्भीर ढङ्गले आक्रमण भइरहेको अवस्थामा पार्टीका जिम्मेवार नेतृत्वहरूले विचारै नगरी त्यतिकै हचुवाको भरमा ल्याइएको छ्रैन ।’ सबै दलको सहमतिमा नै ‘कोशी प्रदेश’ नाम आएको उनले जिकिर गरे ।

कोशी प्रदेश नामाङ्कन भैसकेपछि १ नम्बर प्रदेशवासी आदिवासी जनजाति दाजुभाइ तथा दिदीबहिनीहरूले विरोधका स्वरहरू पनि निकालिरहेका छन् भन्दै राईले भने, ‘समयसापेक्ष यी विरोधका स्वरहरूको विषयमा गम्भीर ढङ्गले नै छलफल र बहस हुनसक्छ ।’ चैत ५ गते भएको पहिचानी आन्दोलन पछि सिर्जना भएको घटनाको विषयमा राज्यको ध्यानाकर्षण भएको छ । यसै आन्दोनलको विषयलाई लिएर सङ्घीय सरकारले छानबिन समितिसमेत निर्माण गरेको छ । ‘अवश्य पनि पहिचानवादीको माग र मुद्दाप्रति प्रदेश तथा सङ्घीय सरकारले गम्भीर भएर सम्बोधन गर्नेछ’ –राईले थपे ।

प्रदेश सांसद् निरन राईले गुम्बा निर्माणको लागि १५ लाख दिने प्रतिबद्धता
गुम्बाको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोशी प्रदेश सभा सदस्य निरन राईले धनकुटा जिल्लाको विकास र समृद्धिको लागि निकै ठूला–ठूला कामहरू भएको दाबी गरे । उनले निर्माणाधीन अवस्थामा रहेको ह्रिन्छेन छ्योलिङ बौद्ध गुम्बाको लागि चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

ह्रिन्छेन छ्योलिङ गुम्बा व्यवस्थापन समितिको अध्यक्षमा पुनः राधादेवी घिसिङ
गुम्बाको पाँचौं वार्षिक साधारणसभाको बन्द सत्रले गुम्बा व्यवस्थापन समितिको अध्यक्षमा पुनः आगामी ३ वर्षे कार्यकालको लागि राधादेवी घिसिङ तामाङलाई सर्वसम्मत ढङ्गले चयन गरेको छ । समितिको उपाध्यक्षमा नरेश पाख्रिन तामाङ, सचिवमा सन्तवीर लामा, सह–सचिवमा लखीमाया लो तामाङ, कोषाध्यक्ष निमडोमा तामाङलाई चयन गरिएको छ ।

त्यसैगरी वरिष्ठ सदस्यमा नेत्रकुमारी मोक्तान तामाङ, अन्य सदस्यहरूमा पेमा ग्लान तामाङ, सन्जु बम्जन तामाङ, मनु ब्लोन तामाङ, सन्जु योन्जन तामाङ र कृष्णकुमारी तामाङलाई चयन गरिएको छ । गुम्बा व्यवस्थापन समितिलाई सही ढङ्गले अघि बढाउनको लागि ६ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा शिक्षाप्रेमी, समाजसेवी, बौद्धिक व्यक्तित्व कृष्णबहादुर ब्लोन तामाङलाई चयन गरिएको छ । सदस्यहरूमा जिन्लाव दोर्जे लामा, अनिल वाइबा तामाङ, कुलबहादुर तितुङ तामाङ, हर्कप्रसाद लामा र जगतबहादुर तामाङलाई चयन गरिएको छ ।

निर्माण कार्यलाई चुस्त दुरुस्त राख्नको लागि तीन सदस्यीय योजना अनुगमन तथा मूल्याङ्कन समितिसमेत गठन गरिएको छ । समितिको संयोजकमा रामबहादुर ब्लोन तामाङ, सदस्यहरूमा इमानसिं वाइबा तामाङ र नवीन वैद्य तामाङलाई चयन गरिएको छ । गुम्बा व्यवस्थापन समितिका सचिव सन्तवीर लामाले गुम्बा स्थापनाकालदेखि हालसम्म भएका गतिविधिहरूलाई संस्थागत प्रतिवेदनको रूपमा प्रस्तुत गरेका थिए । सचिव लामाले आ.व.०७४÷७५ मा गुम्बा स्थापना हुँदाको पृष्ठभूमि, गुम्बा निर्माण गर्नुको औचित्य, गुम्बा निर्माण कार्यको थालनी, गुम्बामा लगानीको सुरुवात, आर्थिक सहयोगको लागि सरोकारवालासँग गरिएको अपिल, गुम्बाले हालसम्म सञ्चालन गरेका विविध गतिविधिहरू, भावी कार्य योजनाहरू र चुनौतीहरू ब्रोसरमार्फत् प्रस्तुत गरेका थिए । 

त्यसैगरी गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष नेत्रकुमारी तामाङले आर्थिक वर्ष ०७४/७५ देखि ०७८/७९ सम्मको ६१ लाख ८२ हजार ८४ रुपैयाँ बराबरको गुम्बाको आय–व्यय आर्थिक प्रतिवेदनमार्फत् प्रस्तुत गरेकी छन् । प्रतिवेदन आ.व. ०७४/७५ मा चन्दा सहयोगबाट ४ लाख ८४ हजार ३ सय, धनकुटा नगरपालिकाबाट ६ लाख ६० हजार ८ रुपैयाँ गरी ११ लाख ४४ हजार ३ सय ८ रुपैयाँ बराबरको आय–व्यय प्रस्तुत गरिन् । त्यसैगरी आ.व. ०७५/७६ मा आजीवन सदस्यता शुल्क १ लाख ९१ हजार १ सय ६५, धनकुटा नगरपालिकाबाट ११ लाख ३३ हजार २ सय १३, प्रदेश सरकारबाट ९ लाख ६२ हजार ८ सय ७५ गरी जम्मा २२ लाख ८७ हजार १ सय ६३ रुपैयाँको आय–व्यय प्रस्तुत गरेका छन् ।

आ.व.०७६/७७ मा विभिन्न दाताहरूबाट आर्थिक सहयोग सङ्कलन गरेर १ लाख १७ हजार २० रुपैयाँ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनकुटाबाट ६ लाख ८१ हजार ९ सय ६८ रुपैयाँ गरी जम्मा ७ लाख ९८ हजार ९ सय ८८ रुपैयाँ आम्दानी भएर खर्च भएको छ । त्यसैगरी आ.व.०७७÷७८ मा विभिन्न दाताहरूबाट आर्थिक सहयोग ८३ हजार ८६ रुपैयाँ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनकुटाबाट २ लाख २५ हजार ८ सय ६५, धनकुटा नगरपालिकाबाट १० लाख ११ हजार ४ सय ८४ रुपैयाँ, गुम्बा निर्माण समितिको तर्फबाट ४ लाख ७६ हजार ८ सय १० गरी १७ लाख ९७ हजार २ सय ४५ रुपैयाँ आम्दानी भई खर्च भएको कोषाध्यक्ष नेत्रकुमारी तामाङले बताइन् ।

उनले आ.व. ०७८/७९ मा दाताहरूबाट आर्थिक सहयोग ७५ हजार, धनकुटा न.पा.बाट ४ लाख ६१ हजार ३ सय ४८ र सञ्चालन न्यून घाटा बजेट २ हजार, ४ सय २७ गरी जम्मा ५ लाख ३८ हजार ७ सय ७५ रुपैयाँ भएको बताइन् । आ.व. ०७९÷८० मा आर्थिक सहयोग र देउसीभैलो कार्यक्रमबाट २ लाख आम्दानी भएको छ । उनले आ.व.०७८÷७९ मा राधादेवी तामाङको ५९ हजार, ८ सय २० रुपैयाँ तथा नवीन वैद्य र इमानसिं वाइबाको ५० हजार गरी जम्मा १ लाख ९ हजार ८ सय २० रुपैयाँ सापटी तिर्न बाँकी दायित्व रहेको बताइन् । त्यसैगरी भुक्तानी तिर्न कामदार ज्याला ११ हजार ५ सय र अधिकारी ट्रेडर्स धनकुटा–४ लाई ११ हजार ८ सय ७० गरी जम्मा २३ हजार ३ सय ७० रुपैयाँ रहेको छ । 

गुम्बाका अध्यक्ष राधादेवी तामाङको अध्यक्षतामा सम्पन्न पाँचौं साधारणसभाको उद्घाटन सत्रमा निवर्तमान प्रदेश सदस्य हिमा बस्नेत भट्टराई, धनपा–४ का वडाध्यक्ष जम्शेर छाराहाङ आठपहरिया, गुम्बाका प्रमुख सल्लाहकार कृष्णबहादुर ब्लोन तामाङ, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, शिलढुङ्गा सामुदायिक वनका अध्यक्ष दोधराज बास्तोलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष बास्तोलाले गुम्बाको विषयमा कविता वाचनसमेत गरेका थिए । कार्यक्रमको सञ्चालन गुम्बा व्यवस्थापन समितिका सचिव सन्तवीर लामाले गरेका थिए । सो कार्यक्रममा विभिन्न दाताहरूबाट नगद सङ्कलन गरेर गुम्बालाई आर्थिक सहयोग जुटाउने अभियानमा सक्रियतापूर्वक भूमिका निर्वाह गरेका धनकुटा–६ क्याम्पस रोडका तीर्थमाया घिसिङ तामाङलाई गुम्बा समितिको तर्फबाट खादा ओढाएर सम्मान गरिएको थियो ।