विजयपुर । धरान उपमहानगरपालिकाका विभिन्न स्थानमा खाना पकाउने ग्याँस लिन उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य भएका छन् । बजारमा ग्याँस सहज रूपमा उपलब्ध नभएकाले घण्टौँ लाइन बस्नुपरेको उपभोक्ताहरूको गुनासो छ ।
यता सरकार, जिल्ला प्रशासन, धरान उपमहानगरपालिका तथा अन्य सरोकारवाला निकायले भने ग्याँस आपूर्तिमा कुनै समस्या नभएको दाबी गर्दै आएका छन् । तर, सम्बन्धित निकायले अभाव नभएको बताइरहँदा पनि बजारमा उपभोक्ताले सहज रूपमा ग्याँस पाउन नसक्नुले प्रश्न उठाएको छ ।
धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार ग्याँस आपूर्तिमा समस्या छैन । उनले शुक्रबार इलाका प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिसहित बजार अनुगमन गरिएको जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा कुनै पनि डिलर वा पसलमा ग्याँस लुकाएर राखिएको (स्टक) भेटिएन । यद्यपि बजारमा ग्याँसको सहज उपलब्धता भने नभएको उनले स्वीकार गरे ।
सापकोटाले कोशी इन्टरप्राइजेज (मङ्गलबारे) मा ३ सय, ग्यास प्रालिमा ४ सय, धरान–१५ स्थित विकास सप्लायर्समा २ सय ५०, धरान–१७ स्थित सफलता किराना पसलमा २ सय ५० तथा प्रणव सप्लायर्समा ग्याँस आएको बताए । यस्तै, १ सय वटा कोशी ग्याँस सिलिन्डर आउने जानकारी प्राप्त भएको उनले बताए । उनका अनुसार केही दिनभित्र आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । उनले भने, “हामीले एक व्यक्तिलाई एउटा मात्र ग्याँस सिलिन्डर बिक्री गर्न र खुद्रा पसलेलाई ग्याँस नबेच्न निर्देशन तथा सुझाव दिएका छौँ ।”
यता इलाका प्रशासन कार्यालय धरानका प्रमुख फणिन्द्र दाहालले पनि ग्याँसको आपूर्ति निरन्तर भइरहेको बताए । उनले भने, “ग्याँस आइरहेको छ । सेवाग्राहीको भीड पनि देखिएको हो ।” उनका अनुसार बजार अनुगमनका क्रममा कतै पनि ग्याँसको अवैध स्टक भेटिएको छैन ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठका अनुसार भारतको हल्दियास्थित ग्याँस प्लान्टमा भएको आगलागीको प्रभाव केही मात्रामा नेपालमा पनि परेको छ । उनका अनुसार दुईवटा ग्याँस प्लान्टमा आगलागी हुँदा आपूर्ति केही घटे पनि अभाव हुने अवस्था भने सिर्जना नहुनुपर्ने हो । उनले भने, “पहिले आधा भरिएका सिलिन्डर प्रयोग हुने भएकाले धेरैले अतिरिक्त सिलिन्डर राखेका थिएनन् । अहिले पूर्ण भरिएका सिलिन्डर आउन थालेपछि धेरै उपभोक्ताले अतिरिक्त सिलिन्डर समेत भर्न थालेका कारण बजारमा केही चाप देखिएको हुन सक्छ ।”
श्रेष्ठका अनुसार यस विषयमा नेपाल आयल निगमसँग पनि समन्वय भइरहेको छ । उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्याँस भण्डारण नगर्न आग्रह गर्दै ग्याँस अभाव नहुने विश्वास व्यक्त गरे ।
