विजयपुर । सुनसरीको धरान–२ स्थित भानुचोकदेखि पश्चिमतर्फ रहेको देशीलाइन सडक पुनः दुईतर्फी सञ्चालन गर्न माग गर्दै स्थानीय व्यवसायीहरूले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।


बिहीबार व्यवसायीहरूले आफ्ना पसल बन्द गरेर धर्ना तथा प्रदर्शन गरेका हुन् । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर बबिन राईका अनुसार व्यवसायीहरूले सडक अवरुद्ध नगरी शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा व्यवसायीहरूले पसल बन्द गराउँदै हिँडेको भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।


यसैबीच, एक संकास्पद व्यक्ति आन्दोलनस्थलमा उपस्थित हुन्छन् । अनुहार छोप्ने पोसाक लगाएका व्यक्ति देखिएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र जिज्ञासा व्यक्त भएका छन् । ती व्यक्तिले आफूलाई ‘स्पाइडरम्यान’ शैलीको पोसाकमा प्रस्तुत गरेको देखिन्छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको पहिचान र भूमिकाबारे प्रश्न उठाएका छन् । पत्रकार केदार बस्नेतले पनि उक्त व्यक्तिको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आन्दोलनमा पहिचान लुकाएर सहभागी हुने व्यक्तिबारे सतर्क रहनुपर्ने टिप्पणी गरेका छन् । उनले “धरानको देशीलाइनमा देखिएको आन्दोलनकारी । यसरी पहिचान लुकाएर आन्दोलनमा सहभागी हुनेहरूबाट सबै सावधान रहनुहोला । घुसपैठ यस्तैबाट हुन्छ ।” लेखेका छन् ।


आखिर को हुन् संकास्पद आन्दोलनकारी? इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर राईले देशीलाइनकै स्थानीय भएको जानकारी प्राप्त भएको बताए । उनले भने, “संकास्पद होइन, त्यही पनि निगरानी गर्न लगाइएको छ ।”

760266137_1680312467434212_5794396970554189471_n


बुधबार व्यवसायीहरूले सडकमा तगारो राखेर अवरोध सिर्जना गरेका थिए । अवरोध हटाउने क्रममा केहीबेर प्रहरी र व्यवसायीबीच धकेलाधकेल समेत भएको थियो ।


व्यवसायीहरूले एकतर्फी सवारी व्यवस्थाका कारण ग्राहकको आवागमन घटेको र व्यापारमा प्रत्यक्ष असर परेको भन्दै देशीलाइन सडकलाई पुनः दुईतर्फी सञ्चालन गर्न माग गर्दै आएका छन् । उता, धरान उपमहानगरपालिकाले दुईपाङ्ग्रे सवारी साधनलाई दुईतर्फी सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जनाएको छ । ट्राफिक प्रहरीले भने पूर्ण रूपमा दुईतर्फी सञ्चालन गर्दा दुर्घटना र ट्राफिक जामको जोखिम बढ्न सक्ने जनाएको छ ।


धरान उपमहानगरले २०७९ फागुन ८ गतेदेखि बजार क्षेत्रमा एकतर्फी (वान–वे) यातायात व्यवस्था लागू गरेको थियो । हाल भानुचोकदेखि लक्ष्मीचोकसम्म सवारी एकतर्फी सञ्चालन हुने व्यवस्था छ भने उत्तर पहाडी क्षेत्रबाट आउने सवारीलाई लक्ष्मीचोक–पृथ्वीचोक–सिंहदेवी–माछाभौडी–देशीलाइन हुँदै भानुचोक प्रवेश गर्ने व्यवस्था गरिएको छ ।