धरान । काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाइटीको आयोजनामा टुँडीखेलमा भव्य साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

१९७४ एडीसँगको सहकार्यमा साङ्गीतिक कार्यक्रम गरिन लागिएको हो । अष्ट्रेलियाली दूतावासले अटिजमसम्बन्धी जनचेतना फैलाउने र मस्तिष्क विकाससम्बन्धी भिन्नता भएकाहरूको उत्सव मनाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको जनाएको छ । नेपालमा करिब तीन लाख बालबालिकाहरूमा अटिजम भएको हुनसक्ने अनुमान छ ।

अटिजम केयर नेपाल सोसाइटी (एसीएनएस) का अध्यक्ष डा. सुनिता मलेकुका अनुसार नेपालमा अटिजमको फैलावट व्यापक रहेको छ । यस विषयमा जानकारी बढाउन, जनचेतना वृद्धि गर्न कार्यक्रम गर्न लागिएको हो । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले अपाङ्ग समावेशितालाई विशेष कार्यक्रमका रूपमा लिएको बताइन् ।

सोहीअनुसार विभिन्न सङ्घ–संस्थासँग सहकार्य गरिएको उनले बताइन् । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसिटी भोल्कले अष्ट्रेलियाली सरकार अपाङ्ग समावेशी विकासलाई प्राथमिकताका साथ प्रवर्धन गर्ने बताए ।