विराटनगर । सीमावर्ती भारतीय बजारबाट क्यारिङमार्फत् भन्सार छलेर भित्र्याइएको खाद्यान्न विराटनगरमा सङ्कलन गरी पूर्वी नेपालका विभिन्न सहरमा आपूर्ति हुने गरेको पाइएको छ ।

विराटनगर महानगरपालिका-६ सरौचियाका खाद्यान्न व्यापारी विनोद केसरीले दुई दर्जनभन्दा बढी भरिया प्रयोग गरेर तस्करीको खाद्यान्न भित्र्याउने र आफ्नै तीनतले घरलाई भण्डारण केन्द्रका रूपमा प्रयोग गर्ने गरेको सशस्त्र प्रहरीको अनुसन्धानबाट खुलेको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानीका डिएसपी सूर्यप्रकाश शर्माको नेतृत्वमा खटिएको टोलीले असोज १० गते दिउँसो केसरीको घरमा छापा मार्दा करिब नौ लाख रुपैयाँ बराबरको बिलविजक नभएको ३५ बोरा खाद्यान्न बरामद गरेको छ ।

घरका विभिन्न कोठामा लुकाएर राखिएको अवस्थामा मरिच, ज्वानो, सोँफ, हिङलगायत सात प्रकारका खाद्यान्न बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्र भण्डारीले जानकारी दिए । बरामद सामानमध्ये सबैभन्दा धेरै २० बोरा दोस्रो तलामा भेटिएको थियो । बाँकी सामान पहिलो र तेस्रो तलाका कोठामा राखिएको थियो । “सरकारी बिदा परेकाले सोमबार कार्यालय खुलेपछि घरधनी र बरामद सामानसहितको प्रतिवेदन विराटनगर भन्सार कार्यालयमा बुझाउँछौँ” भण्डारीले भने, “थप अनुसन्धान र कारबाही भन्सारबाटै हुनेछ ।”

क्यारिङमार्फत् रातारात सामान भित्र्याउने
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार केसरीले सीमावर्ती भारतीय बजार जोगबनीसँगै सुनसरीको अमडुवालगायतका चोरनाका प्रयोग गरी खाद्यान्न भित्र्याउने गरेका थिए । त्यसका लागि उनले दुई दर्जनभन्दा बढी क्यारिङ गर्ने व्यक्तिलाई परिचालन गरेको खुलेको छ । भरियालाई प्रतिकिलोका आधारमा रकम दिने र जोखिमबापत अतिरिक्त पैसा उपलब्ध गराउने गरेको प्रहरीको दाबी छ ।

क्यारिङमार्फत् रातारात भित्र्याइएको सामान सरौचियास्थित केसरीको तीनतले घरमा सङ्कलन गरिन्थ्यो । त्यहाँबाट विराटनगरका पुराना तथा नयाँ गुद्रीका थोक पसल, ठूला डिपार्टमेन्ट स्टोर तथा अन्य बजारमा सामान पठाउने गरेको खुलेको छ । विराटनगरबाहेक सुनसरीको इटहरी, धरान र झापाका विभिन्न बजारसम्म पनि त्यही सञ्जालमार्फत् खाद्यान्न पुर्‍याउने गरेको प्रहरीको भनाइ छ । बरामद सामानका बोरा पनि सिलबन्दी अवस्थामा थिएनन् ।

अधिकांश बोराको मुख खोलिएको वा सिल तोडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । एक प्रहरी अधिकृतका अनुसार तस्करी गरी ल्याइएको सामानमा अन्य सामान मिसाउने र पुनः प्याकेजिङ गरेर बजारमा पठाउने गरिएको देखिएको छ ।

छापा पर्दा केसरी जोगबनीमा
केसरीको घरमा अघिल्लो रात ठूलो परिमाणमा तस्करीको सामान ल्याइएको सूचना सशस्त्र प्रहरीलाई पुगेको थियो । सूचनापछि प्रहरीले रेकी गरेर पुष्टि गरेपछि जिल्ला र गुल्मबाट खटिएको संयुक्त टोलीले घरमा छापा मारेको थियो । तर प्रहरी टोली पुग्दा केसरी भने भारतको जोगबनी पुगिसकेका थिए । त्यसैले उनी तत्काल पक्राउ पर्नबाट जोगिएका छन् । केसरीले भने आफूलाई बरामद सामानबारे कुनै जानकारी नभएको दाबी गरेका छन् ।

“सशस्त्र प्रहरीले घरमा छापा मारेको कुरा मैले दिउँसो मात्र थाहा पाएँ । म भारतमा थिएँ” उनले भने, “मेरो घरमा कसले सामान ल्याइदियो मलाई थाहा छैन । क्यारिङ गर्नेले ल्याइदिएको हुनुपर्छ । त्यो सामान मेरो होइन ।” घरमा सामान कसले राखिदियो भन्ने प्रश्नमा भने उनले थप प्रतिक्रिया नदिई फोन काटेका थिए । यसअघि भदौ ३ गते विराटनगर-१४ जतुवाका विनोद यादवको घरबाट ३ लाख ३८ हजार रुपैयाँ बराबरको रजनीगन्धा र लत्ताकपडा बरामद हुँदा प्रहरीले उनलाई पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको थियो ।

तर, केसरीको घरबाट त्यसको तुलनामा ठूलो परिमाणमा सामान बरामद हुँदा पनि उनलाई पक्राउ गरिएको छैन । यस विषयमा एसपी भण्डारीले घरधनी घटनास्थलमा नभेटिएकाले तत्काल पक्राउ नगरिएको बताए । “हामी पुग्दा घरधनी घरमा थिएनन् । बरामद प्रतिवेदनमा उनको नाम खुलाएर पठाउँछौँ” उनले भने, “बाँकी प्रक्रिया भन्सार कार्यालयले अघि बढाउँछ ।”

भन्सारकै लिलामी सामान केसरीले लिन्छन् 
केसरी भन्सार कार्यालयबाट जफत भएका खाद्यान्न लिलामीमा सकार्ने पुराना व्यवसायीसमेत रहेको खुलेको छ । विराटनगर भन्सारको अभिलेखअनुसार विभिन्न समयमा जफत भएर लिलाम बढाबढमा राखिएका खाद्यान्नमध्ये अधिकांश केसरीले खरिद गर्ने गरेका छन् । स्रोतका अनुसार लिलामबाट खरिद गरेको सामानको वैध कागजात देखाएर तस्करीबाट भित्र्याइएको सामानसमेत बजारमा पठाउने गरिएको आशङ्का छ । लिलामीबाट खरिद गरेको वैध कारोबारको आवरणमा तस्करीको सामान बजारमा खपत गराउने गरेको स्रोतको दाबी छ । यस विषयमा समेत भन्सार कार्यालयले अनुसन्धान गर्ने तयारी गरेको छ ।