भद्रपुर । झापाको हल्दिबारी गाउँपालिका वडानम्बर ३ मा रहेको पञ्चायत माध्यमिक विद्यालयमा जङ्गली हात्तीले क्षति पुर्याएको छ ।

बुधबार बिहान २ बजेतिर आएका तीनवटा जङ्गली हात्तीले विद्यालयको दक्षिणपट्टिको गेटको पर्खाल भत्काएको स्थानीय अभिषेक खतिवडाले जानकारी दिए ।

हात्तीले पुर्याएको क्षतिको विषयमा विद्यालयका शिक्षक डिल्लीराम ढुङ्गेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । त्यसपछि वडाका जनप्रतिनिधिहरूले अनुगमन गरेको खतिवडाले बताए ।

अनुगमनमा वडा नं. ३ का वडाध्यक्ष विष्णुप्रसाद ओली, वडासदस्यहरू अजित विष्ट र कर्ण भण्डारी गएका थिए । अनुमानित २० हजार रुपैयाँ बराबरको क्षति पुगेको स्थानीयको अनुमान छ ।

केही वर्ष यताबाट झापाको दक्षिणी क्षेत्रमा जङ्गली हात्तीको उपद्रोका कारण सो क्षेत्रमा जनधनको ठूलो क्षतिसहित स्थानीय त्रसित छन् ।