विराटनगर । विराटनगर–१८ मटेरुवाकी २० वर्षीया गर्भवती अजमेरी खातुनलाई व्यथा लागेर छट्पटी सुरु भएपछि उनका परिवारले मङ्गलबार राति ९ बजे कोसी अस्पतालको स्त्री तथा प्रसूती रोग विभागमा लिएर आइपुगे । तर, अस्पतालको शय्या भरिभराउ थिए ।

प्रसूति वार्डमा ल्याएपछि सुरुमा मेटरनिटी वार्डको वेटिङमा राखियो । वेटिङ वार्डको २७ शय्या भरिभराउ भएपछि उनलाई भूइँमा राखियो । व्यथा लागेर असह्य पीडामा छट्पटिरहेकी खातुनको नर्मल डेलिभरी नहुने भएपछि अप्रेसन थिएटरमा लगेर चिकित्सकहरूले राति १२ बजे शल्यक्रिया गरे । शल्यक्रिया गरेपछि बिरामीलाई २४ घण्टासम्म पोष्टअप वार्डमा राख्नुपर्ने चिकित्सकहरूको भनाइ छ । कोसीको गाइनो वार्डमा १० शøयाको पोष्टअप वार्ड छ ।

यसअघि शल्यक्रिया भएका बिरामीले पोष्टअप वार्ड भरिभराउ छ । पोष्टअप वार्डमा शय्या नभएपछि सिमेन्टको चिसो भूइँमा म्याट्रेस ओछ्याएर भर्खरै शल्यक्रिया गरिएकी सुत्केरीलाई सुताइयो । ड्युटीमा खटिएका स्वास्थ्यकर्मीले खातुनलाई एकछेउ भूइँमै राखेर सलाइन चढाएर उपचार सुरु गरे ।

उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू भन्दै थिए, ‘अस्पताल प्रशासनदेखि यहाँका मेसुलाई हामीले बिरामीले शøया नभएर छट्पटिएको पीडा धेरै पटक सुनायौं तर, बिरामी र उपचारमा खटिने स्वास्थ्यकर्मीको पीडा बुझ्ने भिजन भएका कुशल प्रशासक पाएनौं ।’ बिरामीको छट्पटीलाई नजिकबाट नियालेका ती स्वास्थ्यकर्मीले ब्लाष्टसँग दुःखेसो पोख्दै थपे, ‘हामी चिकित्सक बिरामीको उपचार गर्दछौं । तर, यहाँ शøयाको व्यवस्थापन अस्पताल प्रशासनले गर्ने हो । शय्या नपाएपछि भूइँमा उपचार गरेका बिरामीका कुरुवाहरू हामीसँग गालीगलौजमा उत्रिन्छन् । हाम्रो पीडा कसले बुझ्ने ?’

सामान्य प्रसूति भएपछि कोसी अस्पतालको स्त्री तथा प्रसूति विभागको दोस्रो तलाको भूइँमा तन्ना ओछ्याएर सुतिरहेकी छन्, मोरङ बूढीगङ्गा गाउँपालिका–४ गकुवाकी २० वर्षीया सुब्रता चौधरी । बुधबार बिहान १ बजे उनले पहिलो सन्तान छोरालाई कोसीको ‘पोष्टनेटल’ वार्डको चिसो भूइँमै जन्म दिइन् ।

५१ शय्याका पोष्टनेटल वार्डको शय्या भरिभराउ भएपछि उनलाई चिसो भूइँमा राखेर उपचार गरिरहनुपरेको छ । ‘भूइँमा बसेर उपचार गर्दा असह्य पीडा हुँदो रहेछ । त्यो पनि गर्भवती महिलालाई धेरै पीडा । नर्मल डेलिभरी हुँदा मरेर बाँचेजस्तो महसुस हुँदो रहेछ’ सुब्रताले दुःखेसो पोखिन्, ‘प्रसूतिपछि नयाँ जीवन पाएजस्तो भएको छ । अहिले हल्का भएको छ । तर, चिसो भूइँमा बसेकोले डाढ दुख्न थालेको छ ।’ प्रसूतिपछि न्यानोमा बस्नुपर्ने, पोषिलो र तातो खानेकुरा खानुपर्ने बेलामा शøया नपाएर चौधरी चिसो भूइँमा उपचार गराउन विवश छिन् ।

विराटनगर–१० की ३० वर्षीया सृजना मण्डलले कोसीको वेटिङ वार्डमा छोरीलाई जन्म दिइन् । बुधबार बिहान १ बजे शøया अभावमा छट्पटीकै बीचबाट उनले भूइँमै दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन् । उनलाई वेटिङ वार्डबाट पोष्टनेटल वार्डमा सारियो । त्यहाँ पनि उनले शøया पाइनन् ।

सिमेन्टको चिसो भूइँमा प्लाष्टिकको फोम ओछ्याएरभर्खरै जन्म दिएकी नवजात शिशुलाई पनि सँगै राखिन् । अस्पतालको शøया अन्य बिरामीले भरिभराउ भएपछि सृजनालाई पनि सुब्रता र अजमेरीजस्तै गरी भूइँमा राखेर उपचार गरियो । कोसी अस्पतालको स्त्री तथा प्रसूति विभागमा पुग्दा देखिएका यी त प्रतिनिधिमूलक दृश्य मात्रै हुन् ।

ब्लाष्टकर्मी  बुधबार बिहान ८ बजे त्यहाँ पुग्दा अजमेरी, सृजना र सुब्रताजस्ता कयौं शल्यक्रिया गरिएका बिरामीसमेत चिसो भूइँमै उपचार गराइरहेका दृश्यहरू देखिए । कोसीको स्त्री तथा प्रसूति विभागको ७८ शøया बिरामीले भरिभराउ भएपछि बुधबार बिहान १५ देखि २० जना बिरामीलाई यहाँका स्वास्थ्यकर्मीले भूइँमै राखेर उपचार गर्दै आएका छन् । कोसीमा दैनिक २५ देखि ३० जना गर्भवतीको सामान्य प्रसूति हुने गर्दछ ।

१२ देखि १५ जना गर्भवतीको शल्यक्रिया हुने गरेको छ । दैनिक १५ जनासम्म गर्भवतीको शल्यक्रियामार्फत् शिशुलाई जन्म दिने अस्पतालमा १० शøयाको पोष्टअप वार्ड छ । शल्यक्रिया गरेपछि २४ घण्टा अब्जरवेसन र थप उपचारको लागि बिरामीलाई पोष्टअप वार्डमा राखेर उपचार गरिनुपर्ने चिकित्सकहरू बताउँछन् । तर, शøया अभावको कारण अहिले ८ घण्टा मात्र एक जना बिरामीलाई पोष्टअप वार्डमा राखेर पोष्टनेटल वार्डमा सारिने गरेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।

‘ठाउँ नभएपछि बिरामीलाई अर्को वार्डमा सार्नुको विकल्प छैन । नभए यहीँ भूइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘बिरामीलाई मर्न त दिनुभएन, बचाउनु प¥यो । त्यही भएर पनि हामीले बिरामीलाई भूइँमै राखेर भए पनि उपचार गर्नुपर्ने बाध्यता छ ।’ गर्भवती बिरामीको सङ्ख्या बढेपछि यहाँ कार्यरत स्वास्थ्यकर्मीले स्त्री तथा प्रसूति विभागको तेस्रो तलामा ट्रस बनाएर शøया थपका लागि माग राखेका छन् । तर, अस्पताल प्रशासनले शøया विस्तारमा चासो नदेखाएको चिकित्सकहरूको भनाइ छ ।

‘प्रसूति विभाग भवनको माथिल्लोे तलामा ट्रस बनाएर ३० देखि ४० वटासम्म बेड थप हुने थियो । त्यसमा अस्पतालका मेसु र अस्पताल विकास समितिले ध्यान दिएकै छैन । हामी भन्दा–भन्दा आजित भइसक्यौं’ अर्का एक चिकित्सकले गुनासो पोखे । २ नर्सले २६ जना बिरामी हेर्नुपर्ने बाध्यता रहेको कोसी अस्पतालमा प्रसूति तथा स्त्री रोग विभागमा ३९ जना नर्स कार्यरत रहेका छन् भने पाँच जना चिकित्सक । २९ नर्समध्ये १७ जना मेटरनिटी वार्डमा, ८ जना पोष्टअपमा र १४ जना पोस्टनेटल वार्डमा कार्यरत छन् । मेटरनिटी वार्डमा रहेका एक जना नर्सले १३ जना बिरामीसम्म हेर्नुपर्ने अवस्था कोसीमा छ । स्वास्थ्य मापदण्डअनुसार एक जना नर्सले ६ जनासम्म बिरामीको हेरचाह गर्नुपर्ने हो ।

तर, यहाँ १३ जनाभन्दा बढी बिरामी १ जना नर्सले हेर्नुपर्ने अवस्था छ । प्रसूति तथा स्त्री रोग विभागले अस्पताल प्रशासनसँग थप जनशक्ति माग गर्दा पनि अहिलेसम्म उपलब्ध गराएको छैन । शल्यक्रियासम्बन्धी प्रोटोकलका दृष्टिकोणले शल्यक्रिया गरेपछि बिरामीलाई अनिवार्य रूपमा पोष्टअप वार्डमा राख्नुपर्ने हुन्छ । तर, शय्या अभावको कारण बाध्यताका कारण कोसीमा शल्यक्रिया गरिएका बिरामीलाई भूइँमा राखेर उपचार गर्ने गरिएको छ । शल्यक्रिया गरिएको बिरामीलाई भूइँमा राखेर उपचार गर्दा बिरामीलाई सङ्क्रमण हुने प्रसूति तथा स्त्रीरोग विशेष डा. बालकृष्ण साहले बताए ।

‘शल्यक्रिया गरेपछि थप उपचार र अब्जरवेसनका लागि पोष्टअप वार्डमा राख्नुपर्ने हुन्छ’ डा. साहले भने, ‘पोष्टअप वार्डमा नराखेर भूइँमा राख्दा बिरामीलाई सङ्क्रमण हुने खतरा बढी हुन्छ ।’ कोसी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले अस्पतालको स्रोत साधनले भ्याएसम्म अस्पतालमा आएका बिरामीको उपचार गरेको बताए । ‘पुरानो भवनमा हुँदा स्त्री तथा प्रसूति विभाग एक सय शøयाको थियो । अहिले नयाँ भवनमा गएपछि शय्या घटेर ७८ मा खुम्चिएको छ । त्यही भएर पनि अहिले समस्या आएको हो’ मेसु यादवले भने, ‘नयाँ भवनको माथिल्लो तलामा ट्रस बनाएर ४० शøया थप गर्ने तयारीमा छौं । त्यसको लागि मन्त्रालयसँग बजेट माग गरिएको छ ।’

khatun-1

koshi-ko-bhawan