धरान । सुनसरीको इटहरीमा रहेका विभिन्न निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई ऐतिहासिक चलचित्र ‘नालापानी’ देखाउन थालिएको छ ।

अभियानका रूपमा दैनिक फरक–फरक विद्यालयका विद्यार्थीहरूलाई फिल्म देखाइएको निर्देशक रिमेश अधिकारीले जानकारी दिए । फिल्म देखाउनका लागि इटहरी नगर प्याब्सनले संयोजन गरेको छ ।

कात्तिक २९ गते इटहरीको नोबेल एकेडेमीका विद्यार्थीमाझ फिल्म देखाइएको थियो भने ३० गते लिटल फ्लावर बोर्डिङ स्कुलका विद्यार्थीलाई देखाइएको थियो ।

नेपाली पुर्खाले नालापानी जोगाउन गरेको योगदानलाई फिल्ममा समेटिएको छ । सोही कुरा युवा विद्यार्थीहरूलाई जानकारी दिने उद्देश्यले फिल्म देखाइएको प्याब्सन अध्यक्ष पुण्य सापकोटाले जानकारी दिए ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धका विषयमा समेटिएको छ । जहाँ नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाई फिल्म निर्माण गरिएको छ ।