विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको करिब ५८ लाख रकम अस्पतालका कर्मचारीले नक्कली बिरामी खडा गरी घोटाला गरेको पाइएको छ ।

अस्पतालको रिसेप्सन बिलिङ एण्ड डिस्चार्ज विभागका इन्चार्ज मोरङको सुनवर्षी नगरपालिका–२ का २६ वर्षीय दुर्गाबहादुर विष्ट र सुनसरी इटहरी–४ का २४ वर्षीय अश्विन भट्टराईको मुख्य योजनामा दश जना कर्मचारीको मिलेमतोमा ५७ लाख ९६ हजार १ सय ६० रुपैयाँ घोटाला भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

मोरङ प्रहरीले विराट हस्पिटलको रकम घोटाला गरी ठगी गरेको आरोपमा अन्य आठ जना पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये सबैभन्दा बढी घोटाला भट्टराई र विष्टले गरेको खुलेको छ । मोरङ अदालतमा दायर अभियोगमा उल्लेख भएको विवरणअनुसार डिस्चार्ज विभागका इन्चार्ज विष्टले २३ लाख ६६ हजार ६ सय १७ रुपैयाँ, भट्टराईले २३ लाख ९० हजार ७ सय ३१ रुपैयाँ अस्पतालको रकम अपचनल गरेको खुलेको छ ।

यस्तै अस्पतालका अन्य कर्मचारीहरू स्वस्तिका श्रेष्ठले ५ लाख २६ हजार ७ सय ९१, सुनिल पासवानले १९ हजार ६ सय २७, प्रभुनारायण चौधरीले ३३ हजार ३ सय, सुशील पासवानले २ लाख ९८ हजार ५ सय ३, किरण विश्वकर्माले ६७ हजार ३ सय ३२, वसन्तकुमार रामले  १० हजार र नरनारायण चौधरीले ५६ हजार ५ सय ७३ रुपैयाँ हिनामिना गरेको अदालतमा दायर भएको ठगी मुद्दाको अभियोग पत्रमा उल्लेख छ ।

हस्पिटलले कर्मचारीको मिलेमतोमा विराट टिचिङ हस्पिटलको ५ करोड रुपैयाँ हिनामिना भएको भन्दै कारबाहीको दायरामा ल्याउन मागसहित ३ कात्तिकमा मोरङ प्रहरीमा उजुरी दिएको थियो । प्रहरीमा उजुरी परेपछि विष्ट र भट्टराईलाई सोही दिन पक्राउ गरेको थियो । अन्य ८ जनाको पनि घोटालामा संलग्नता देखिएपछि पछि पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि शुक्रबार उनीहरूविरुद्ध मोरङ अदालतमा ठगी मुद्दा दायर भएको हो ।

मोरङ अदालतमा आइतबार र सोमबार प्रतिवादीहरूको बयान लिन सुरु भएको मोरङ अदालतका सूचना अधिकारी सुबोध आचार्यले जानकारी दिए । अदालतमा बयान सकिएकोले मङ्गलबार थुनछेक बहस हुने उनले बताए ।

घोटालामा संलग्न भएकामध्ये मुख्य नाइके विष्ट र भट्टराई रहेको बुझिएको छ । विष्ट चार वर्षदेखि र भट्टराई दुई वर्षदेखि हस्पिटलमा काम गर्दै आएका थिए ।

बिरामी डिस्चार्ज भएपछि भुक्तानी गर्नुपर्ने रकम डिस्चार्ज काउन्टरको इन्चार्ज भएकोले विष्ट र भट्टराईले बुझ्दै आएका थिए । उनीहरूले लिएको रकम लेखा शाखामा बुझाउँदै आएका थिए । पछिल्लो समय केही महिनादेखि विष्ट र भट्टराईले बिरामीले दिएको रकम लेखा शाखामा नबुझाई आफै राखी करिब पाँच करोड हिनामिना गरेको हस्पिटलको दाबी थियो । पछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्दा ५७ लाख ९६ हजार रुपैयाँ घोटाला भएको तथ्य र प्रमाण प्रहरीले सङ्कलन गरेको छ ।

विष्ट र भट्टराईले दशजना हस्पिटलको कर्मचारीको युजर आइडी बनाएर हस्पिटलको रकम अपचलन गरेको देखिएको छ । भट्टराईले ‘आश्विन’ र विष्टले ‘दुर्गा’ नामको युजर आइडी बनाएर घोटाला गरेको प्रहरीले जनाएको छ । अर्काको युजर आइडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीबापतको रकम अनधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरी अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिई बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।

रकम हिनामिनाका सम्बन्धमा छलफल गर्न अस्पताल सञ्चालक समितिको बैठक गत कात्तिक ३ गते बसेको थियो । बैठकले लेखा परीक्षक मनोज अधिकारीलाई छानबिन गरेर प्रतिवेदन पेश गर्ने विज्ञका रूपमा नियुक्त गरेको थियो । कर्मचारीकै मिलेमतोमा अनियमितता गरिएको प्रतिवेदन तयार पारेर अधिकारीले कात्तिक १४ गते अस्पताललाई बुझाएका थिए ।