कानेपोखरी, मोरङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिबाट ६० वर्षीय पदमबहादुर श्रेष्ठ २०४३ सालमा बसाई सरेर मोरङको कानेपोखरी गाउँपालिका–६ मूलगाउँमा आए । त्यहाँ उनले लालपुर्जा विनाको १५ कठ्ठा जमिन किनेर बसे । त्यसयताको तीन दशकमा श्रेष्ठले थुप्रै चुनावमा भोट माग्न आएका नेतालाई घर गाउँमै भेटे ।

दल र उम्मेदवारहरूको पहिलो आश्वासन जग्गाको लालपुर्जा दिने हुन्थ्यो । तर, अहिलेसम्म लालपुर्जा भने नपाएको श्रेष्ठले बताए । ‘जग्गा किनेर घर बनाएर बसेको २५ वर्ष भइसक्यो तर, लालपुर्जा हातमा छैन’ उनले भने, ‘जग्गा सम्पत्ति भएर पनि सुकुम्बासीजस्तै हुनुपरेको छ, उद्योग, व्यवसाय गर्न बैङ्कले ऋण दिँदैन ।’

पहाडमा भन्दा तराईमा जीवनयापन सजिलो होला भनेर बसाई सरेर आएको तर, जग्गाको लालपुर्जा नहुँदा जग्गा भए पनि सुकुम्बासीको बिल्ला भिरेर पीडा सहनुपरेको उनको दुःखेसो छ । लाखौं मूल्य पर्ने जग्गा भए पनि लालपुर्जा नहुँदा सामाजिकरूपमा सुकुम्बासी भनेर हेलाहोचो र विभेद सहनुपरेको उनको दुःखेसो छ ।

‘गाउँमै एउटा किराना पसल सञ्चालन गरेको थिएँ, व्यापारको लागि । त्यसलाई विस्तार गरेर लैजाने योजना थियो’ उनले भने, ‘ धनीपुर्जा नहुँदा बैङ्कले कर्जा दिँदैन् ।’

कानेपोखरी–६ का शक्तिजङ पराजुलीकोे पीडा पनि उस्तै छ । उनको पनि कानेपोखरी–६ मा १८ कठ्ठा जग्गा छ । उनी पनि लालपुर्जाको आशामा बसेको ३० वर्ष हुन लाग्यो । ‘जग्गा–जमिन भएर पनि बैङ्कमा धितो राखेर ऋण लिन नपाउँदा धेरै अवसरबाट बञ्चित हुनुपर्दो रहेछ’–उनले भने ।

तराई झर्नुमा श्रेष्ठ र पराजुलीको एउटै उद्देश्य थियो, पहाडमा भन्दा तराईमा जीवनयापन सहज हुन्छ र सन्ततीको भविष्य राम्रो हुन्छ ।श्रेष्ठ र पराजुली मात्र होइन, कानेपोखरी गाउँपालिकाभित्र ७ हजारको हाराहारीमा अव्यवस्थित, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी रहेका छन् ।

कानेपोखरीको ६ र ७ नम्बर वडामा सबैभन्दा बढी सुकुम्बासी रहेका छन् । कानेपोखरी–६ का वडाध्यक्ष खड्ग बस्नेतका अनुसार ६ नं. वडाभित्र १ सय ९३ भूमिहीन दलित, ४ सय भूमिहीन सुकुम्बासी र ८ सय ३ जना अव्यवस्थित बसोबासी रहेका छन् । जसमध्ये कानेपोखरी गाउँपालिका–६ मा ५४ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले धनीपुर्जा पाएका छन् ।

राजस्व चर्को भएपछि समस्यामा
दशकौंदेखि लालपुर्जाको आशामा बसेकाहरू अहिले फेरि अर्को पीडामा छन् । अव्यवस्थित बसोबासीका लागि जग्गाको मूल्याङ्कनका आधारमा झण्डै २ सय प्रतिशत राजस्वदर कायम गरिएपछि कानेपोखरी भूमिहीन सुकुम्बासीलाई समस्या परेको छ ।

‘गाउँको एक कठ्ठा जग्गाको राजस्व नै ८० हजारदेखि १ लाखभन्दा बढीसम्म तिर्नुपर्ने भएपछि कसरी लालपुर्जा लिने ?’ कानेपोखरी–६ का भूमिहीन सुकुम्बासी कमलबहादुर घलेले भने, ‘यति चर्को राजस्व बुझाउनुभन्दा लालपुर्जा नै चाहिएन, यो सरकारले त झन् सुकुम्बासी पो बनाउने भयो ।’ प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको समितिले पालिकाको सिफारिसका आधारमा जग्गाको मूल्य र राजस्वको दर निर्धारण गर्दछ ।

कानेपोखरी गाउँपालिका–६ का वडाध्यक्ष बस्नेतले राजस्व बढी आएपछि पुनरावलोकनको लागि गाउँपालिकाले निर्णय गरी भूमि आयोगमा पठाएको बताए । ‘राजस्व बढी आएपछि हामीले पुनरावलोकनको लागि आयोगमा गाउँपालिकाले निर्णय गरी पठाएको छ’ उनले भने, ‘चुनावपछि आयोगले केही निर्णय गर्नेछ ।’

वाचा भुल्दै भोट माग्दै
एउटा स्थानीय तहमा ७ हजार बढी सुकुम्बासी भएको कानेपोखरी गाउँपालिका मोरङ क्षेत्र नं. ३ मा पर्दछ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट काङ्ग्रेसका सुनिल शर्मा, नेकपा (एमाले)बाट भानुभक्त ढकाल र राप्रपाबाट अभिनेतृ रेखा थापा उठेकी छन् ।

२०७४ सालको निर्वाचनमा सुकुम्बासी समस्या समाधान गर्ने भन्दै मुख्य चुनावी एजेण्डा बनाएका ढकालले निर्वाचन जितेका थिए । उनले त्यसबेला अर्को चुनावमा सुकुम्बासी समस्या लिएर कम्युनिष्ट पार्टीका उम्मेदवार नआउने घोषणा गरेका थिए ।

तर, अहिले विगतको वाचा भुलेर ढकाल फेरि सुकुम्बासी समस्या समाधान गर्ने भन्दै भोट माग्दै घरदैलोमा हिँडेका छन् । शर्मा र थापाले पनि सुकुम्बासी समस्या समाधान गर्ने र ३ नं. क्षेत्रको विकासमा ध्यान दिने भन्दै अहिले घरदैलोमा छन् ।