बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

सो सम्बन्धमा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त कम्पनी र क्यापीटलबीच शेयर निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौता सम्पन्‍न भएको छ। सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्ट लिमिटेडको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्। 

२०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ। संस्थापक समूहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भइसकेको छ। 

कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भइ विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ। यस कम्पनीमा एसजी ग्रुप मुख्य लगानीकर्ताको रुपमा रहेको छ। बरुण इन्भेष्टमेन्ट लिमिटेडले  बझाङस्थित कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लिमिटेड (३८.४७ मेगावाट) र बुंगल हाइड्रो लिमिटेड (१०.७० मेगावाट) गरी ३ हाइड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट मा मुख्य लगानीकर्ताको रुपमा रहेको छ।