धरान । लिम्बू संस्कृतिमा आधारित नेपाली चलचित्र ‘माङ्गेन्ना’ निर्माण हुने भएको छ ।

अग्रज चलचित्रकर्मी प्रेम सुब्बाको निर्देशनमा बन्न लागेको ‘माङ्गेन्ना’ को प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाङ्फेले क्ल्याप हानेर शुक्रबार धरानमा शुभमुहूर्त गरिन् ।

राज्यमन्त्री तुम्बाहाङ्फेले लिम्बू समुदायको संस्कार, संस्कृति र मौलिकता संरक्षण गर्न यस्ता चलचित्र बन्नुपर्ने बताइन् । उनले राज्यले मौलिक चलचित्रमा लगानी गर्न नसकेको बताइन् । कार्यक्रममा याक्थुङ चलचित्रकर्मी सङ्घका अध्यक्ष नवीन मेन्याङ्वोले शुभकामना व्यक्त गर्दै चलचित्रको सफलताको कामना गरे ।

लिम्बू समुदायमा माइतीले चेलीको र चेलीले माइतीको शिर उठाउने संस्कारलाई माङ्गेन्ना भनिन्छ । यही संस्कारलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रमा मुख्य रूपमा किशोर सम्बाहाङ्फे, टीकाराम लिम्बू, ममता लिवाङ, विपना अन्छङ्वो, आरबी थाङ्देन, प्रकाश लिम्बूलगायतले अभिनय गर्नेछन् ।

मिक्लाजुङ फिल्म्स प्रालिको पहिलो प्रस्तुतिका रूपमा सागर सिङ्गल र टीकाराम लिम्बू निर्माता रहेको चलचित्रको कथा पनि निर्देशक प्रेम सुब्बाले नै लेखेका हुन् । चलचित्रको छायाङ्कन प्रकाश सुब्बाले गर्नेछन् ।