विजयपुर । विपद् प्रतिकार्य संयुक्त अभ्यास सम्पन्न भएको छ ।

शुक्रबार सुनसरीको धरान औद्योगिक क्षेत्रमा आगलागीलगायत विपद्का घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण तथा आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायको संयुक्त अभ्यास गरिएको हो ।

नेपाली सेना श्री भगवतीदल गणको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी नमुना अभ्यास गरिएको हो ।

अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, धरान उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरीको संयुक्त टोलीले आगलागी नियन्त्रण, बारुणयन्त्रको प्रयोग, घाइतेको उद्धार र प्राथमिक उपचारलगायतका प्रक्रियाको व्यावहारिक प्रदर्शन गरेको श्री भगवतीदल गणका गणपति देवराज भट्टले बताए ।

सुख्खायाम तथा चाडपर्वका समयमा विद्युत् सर्ट, ग्यास चुहावट, मानवीय लापरवाही, औद्योगिक दुर्घटना तथा सुख्खा मौसमका कारण आगलागी हुने सम्भावित जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले अभ्यास गरिएको गणपति भट्टले बताए ।

अभ्यास अघि सम्भावित आगलागी तथा अन्य विपद्का घटनाको सूचना प्रवाह, अन्तरनिकाय समन्वय, निर्णय प्रक्रिया, स्रोतसाधनको पहिचान तथा परिचालन, उद्धार र राहत व्यवस्थापन, घाइतेको उपचार, सुरक्षा व्यवस्थापन तथा जनचेतना अभिवृद्धिलगायतका विषयमा छलफल समेत गरिएको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आगलागीलगायत विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै क्षेत्रका नागरिकमा सचेतना र पूर्वतयारी आवश्यक रहेको बताए । उनले आगलागीको जोखिमबारे सबै नागरिक सचेत र पूर्वतयार रहनुपर्ने बताउँदै आगलागी भइहालेमा तत्काल नियन्त्रण गर्ने, सम्भावित क्षति न्यूनीकरण गर्ने तथा घाइतेको उद्धार र उपचार गर्ने तरिकाबारे जानकारी दिन अभ्यास उपयोगी हुने बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख पुष्पराज मल्ल, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरका प्रमुख लबकुमार सापकोटा, राष्ट्रिय अनुसन्धानका निर्देशक विमल घिमिरे, धरान औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बन्जाडेलगायतको उपस्थिति रहेको थियो ।