विजयपुर । हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमी, दीपावलीलगायतका चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन कोशी प्रदेशभर ८ हजार १३३ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्व सुरक्षा कार्ययोजना–२०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको हो । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि, दुर्घटना तथा अप्रिय घटनालाई न्यूनीकरण गर्दै नागरिकलाई हर्षोल्लास, आपसी सद्भाव र भयरहित वातावरणमा चाडपर्व मनाउने वातावरण बनाउन प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले यात्रुहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै प्रदेशका १४ वटै जिल्लाका बसपार्क, बस स्ट्यान्ड, मुख्य राजमार्ग तथा सहायक मार्गका विभिन्न ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
सहायता कक्षमार्फत यात्रुका समस्या तथा गुनासा सुनुवाइ गर्ने, आवश्यक सहयोग र सहजीकरण गर्ने तथा यात्राका क्रममा हुन सक्ने ठगीलगायतका समस्याबाट जोगाउने व्यवस्था मिलाइएको छ । त्यसैगरी, सीमानाकाबाट पटाकाजन्य विस्फोटक पदार्थ तथा अवैध सामग्री भित्रिन नदिन मुख्य नाका र शंकास्पद क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । सीमावर्ती क्षेत्रमा चोरी–तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न चेकजाँच र निगरानीलाई कडाइ गरिएको प्रहरीले जनाएको छ ।
बढी भीडभाड हुने चोक, बजार तथा सार्वजनिक स्थानमा सीसीटीभीको निगरानी बढाइएको छ । आवश्यकताअनुसार ड्रोन क्यामेरासमेत परिचालन गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत ४५३ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) परिचालन गरिएको छ । आपराधिक गतिविधि, झैझगडा, दुर्घटना तथा आकस्मिक घटनामा तत्काल प्रहरी परिचालन र उद्धार गर्न क्यूआरटीलाई तयारी अवस्थामा राखिएको छ । त्यस्तै, सुरक्षा संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा आवश्यकताअनुसार परिचालन गर्न १५ वटा स्ट्राइकिङ टोलीको व्यवस्था गरिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना सुनिश्चित गर्न, मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण तथा अवैध गतिविधि रोक्न ट्राफिकसहितका १७९ वटा संयुक्त चेकिङ व्यवस्था मिलाइएको छ । राजमार्गमा यात्रु तथा सवारीसाधनको सुरक्षित आवागमन सुनिश्चित गर्न २२ वटा राजमार्ग स्कर्टिङ टोलीसमेत परिचालन गरिएको छ ।
यसैगरी, शान्ति सुरक्षा कायम राख्न तथा चोरी, पाकेटमारी र उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न २१५ वटा पैदल गस्ती, ९८ वटा मोबाइल गस्ती र ५०३ वटा पिकेट परिचालन गरिएको छ । सुरक्षा संवेदनशील क्षेत्र, मुख्य चोक, बजार तथा सार्वजनिक जमघट हुने स्थानमा प्रहरीको उपस्थिति बढाइएको छ ।
चाडपर्वका समयमा दर्शनार्थी तथा पर्यटकको चाप बढ्ने धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको सुरक्षाका लागि ५० वटा टोली परिचालन गरिएको छ । मठमन्दिर, शक्तिपीठ तथा पर्यटकीय गन्तव्यमा भीड व्यवस्थापन, सुरक्षित आवागमन र सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको छ ।
त्यस्तै, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्भावित अवाञ्छित गतिविधि रोक्न महत्त्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयको सुरक्षाका लागि ३४ वटा टोली परिचालन गरिएको छ । बैंक तथा वित्तीय संस्था, सुनचाँदी कारोबार हुने स्थान र अन्य आर्थिक कारोबारका केन्द्रमा चोरी, लुटपाट तथा ठगी नियन्त्रण गर्न ५६ वटा सुरक्षा टोली परिचालन गरिएको छ ।
कोशी प्रदेश प्रहरीले चाडपर्वका समयमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निगरानी, गस्ती, चेकजाँच तथा आकस्मिक प्रहरी प्रतिक्रियालाई प्रभावकारी बनाएको जनाएको छ । सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्ने प्रहरीको लक्ष्य रहेको छ ।

































