विराटनगर । मोरङ जिल्लास्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी स्कुल, बाल प्रतिभा र इन्द्रपुर नमूना सेकेण्डरी स्कुलले जितेको छ ।

विराटनगरमा बिहीबार राती सम्पन्न भएको प्याब्सन लोक नृत्य प्रतियोगिताको फाइनलमा जुनियरतर्फको प्रथम बालप्रतिभा, इन्द्रपुर नमूना र सिनियरतर्फ सिद्धार्थ स्कुल घोषित भएको हो ।  बालप्रतिभा र ईन्द्रपुर नमूना स्कुलको समान अंक भएर टाईअप भएपछि जुनियरतर्फ दुई विद्यालयलाई प्रथम घोषणा गरिएको आयोजक समितिले जनाएको छ । 

जुनियरतर्फ उर्लाबारीको भृकुटी मोडल स्कुल दोश्रो र बेलबारीको आदर्श स्कुलले तेश्रो स्थान हासिल गरेका छन् । जुनियरतर्फ रंगेलीको मिनील्याण्ड स्कुल चौथो भयो । बेलबारीको ईस्टर्न भ्यू र सुन्दरहरैंचाको स्कलर्स होम तथा सिद्धार्थ उच्च मावि पाँचौ भएको छ । 

यसैगरि सिनियरतर्फ सुन्दरहरैंचाकै ब्राईट फ्यूचर स्कुल दोश्रो र पथरीको एभरेष्ट उच्च माध्यमिक विद्यालय तेश्रो भएको छ । बेलबारीको शिक्षा संदेश स्कुल चौथा  र उर्लाबारीको सनसाईन स्कुलले सिनियरतर्फ पाँचौ भएको छ । 

प्रतियोगिताको सिनियरतर्फ प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले शनिबारदेखि सुन्दरहरैचामा सुरू हुने प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । बिजयी विद्यालयहरुलाई सिनियर र जुनियर दुवै क्याटोगरिमा प्रथम,दोश्रो र तेश्रो हुनेलाई नगद १५ हजार,१० हजार र ५ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । यस्तै सान्तवना हुने विद्यालयले ट्रफि पाए ।

प्रतियोगितामा मोरङका ५९ विद्यालयका विद्यार्थीहरुले विभिन्न समुदायका मौलिक लोकनृत्य प्रस्तुत गरेको प्याब्सन मोरङका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए । प्रतियोगितामा सहभागि कक्षा १ देखि ८ सम्म जुनियर र ६ देखी १२ सम्म सिनियरतर्फका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । प्याब्सन मोरङले २०६२ सालयता लोकनृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले बताइन् ।

बिजयी हुने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनको राष्ट्रिय अध्यक्ष डिके ढुङ्गाना, विशिष्ट अतिथिहरू प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, बासुदेव न्यौपाने, सचिब हेमन्त कार्की, प्रदेश १ का अध्यक्ष टीकाराम ढकाल, अतिथिहरू प्याब्सन मोरङका प्रमुख सल्लाहकार तथा प्रदेश १ का उपाध्यक्ष अर्जुन बस्नेत, प्याब्सनको पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको अध्यक्षता प्याब्सन मोरङका अध्यक्ष शितला सुब्बाले गरेकी थिइन् ।