विक्रम याक्सो अहिले बाँझो खेतबारीमा आँखा टोलाउँछन् । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ हाङपाङ निवासी उनि विगतका असार साउनमा दिनहरुमा हिलोले लत्तपतिएर असारे गीत गाउँदै खेतबारीमा आली लगाएका दिनहरु सम्झिरहन्छन् । खेतबारीमा हलो जोतेको, आली लगाएको यादहरु  याक्सोको सम्झानामा मात्र सीमित हुन पुगेको छ । 

उन विगका समयमा जेठ महिनाको पहिलो सातादेखि साउन तेस्रो सातासम्म खेतबारीमै हुन्थ्यो । असारे झरीमा लुथ्रक्कै झिज्दै बिहानीको उज्यालोको झिसमिसमै खेतबारी पुग्थे र बेलुका गोधुली साँझसम्म खेतबारीमै हुन्थ्यो । जुनेली रातमा पानीको कुलो फर्काउन खेतमा पुग्थे तर अहिले उनि ६५ वर्ष पुगे । उनलाई विस्तारै बूढेसकालले छुँदै गयो ।

हुर्किएकी तीन बहीनी छोरी विवाह गरेर गइसक्यो । परिवार घट्दै गयो । खेतबारी पनि बाँझो हुँदै गयो । विगतमा ८० मुरीदेखि ९० मुरी धान फलाउँने तर अहिले उनको धेरैजसो खेतबारी बाँझो हुन पुकेको छ । उनिले भने, “पहिले त बेठी लगाएर नौमती बाजासहित धान रोप्थे तर अहिले कसैले बेठी लगाउँदैन । विस्तारै खेतीपाती गर्न छोड्दै गए । बरु खेतबारी बाँझो राखेर विदेशतिर जाने बढ्दै गयो ।” गाउँमा खेतीपाती गर्ने खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ ।

फक्ताङलुङ गाउँपालिका–२ खेजिमिका दिलकुमार पतङवा विगत  तीन वर्ष अगाडिको समयमा खेतबारीमा हिलोले लत्पतिएर खेतको आली लगाउथे, कहिले खेतबारीमा गोरु नार्दै गरेको भेटिन्थ्यो तर अहिले उनि अलैँची बगानमा अलैँची स्याहादै गरेको भेटिन्छ । उनले खेतबारी मासेर अलैँची लगाएको हो । केही वर्ष अगाडि ३० मुरी धान फलाउँदै आएको पताङवा अहिले भने एक दाना पनि फलाउँदैन । धान रोप्ने खेतबारीहरुमा सुन्तला, किबी, कफी र अलैँचीजस्ता फूलदेखि नगदे बाली लगाउन थालेको तिन वर्ष भयो । उनले गाउँगाउँमा सडक खन्ने काम सुरु भएसँगै खेतमा धान रोप्न छोडेर अलैँची तथा अन्य  खेतीपाती गर्न तिर लागेको उनले जानकारी दिए ।

  गाउँगाउँमा सडक खन्न थालेसँगै पहिरोको उच्च जोखिम बढ्दै गएर पछि खेतबारीमा धान रोप्न छोडेर अलैँची बगान हुर्काउन थालेको पतङवाको भनाइ छ । उनले भने, “सडकले गाउँका खेतबारी चिराचिरा बनाएको छ । बर्खाको समयमा घरमा बस्नसमेत जोखिम छ । यस्तो समयमा खेतमा झन पानीको कुलो लगायो भने गाउँ पहिरोको उच्च जोखिम हुन्छ ।

त्यसैले रुखको बिरुवासँगै अलैँची बगान लगाउन थालेको छु । अलैंची एक पटक रोपे पछि आठ नौ वर्ष रोप्नुपर्दैन । फल दिइरहन्छ । अलैँचीलाई शीतलता दिनका लागि रुख चाहिन्छ । रुख बिरुवा हुर्कायो भने पहिरो जानबाट रोकिन्छ । पहिरो गएन भने गाउँमा पहिराको जोखिम पनि हुँदैन भन्ने उद्देश्यले खेतबारी मासेर अलैँची बगान लगाउन थालेका पतङवाको भनाइ छ ।

फक्ताङलुङ–६ मादिबुङ गाउँका सन्तकुमार फेम्बू पाँच वर्ष अगाडि गाउँकै सबैभन्दा धेरै धान फलाउनेमा पर्थे । गाउँका अधिकांश परिवार फेम्बुको खेतबारीमा धान रोप्न नपुगेको कोही पनि हुँदैनथ्यो तर विस्तारै गाउँमा खेतमा काम गर्ने खेताला पाउँन छोड्दै गयो ।

खेतालाको ज्याला पनि बढ्दै गयो । गाउँका युवा ऋण खोजेर विदेशिन थाले । खेतमा काम गर्ने ज्यालादारी पाउनै मुस्किल हुन थाल्यो । अन्यमा फेम्बुले खेतबारी मासेर अलैँची लगाउनुको विकल्प रहेन । विगतमा असारमा धमाधम धान रोपाइँ हुने खेत अहिले अलैँची बगानमा परिणात भएको छ ।

सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकका चैतन्य इवारमको करिब १४ रोपनी खेतबारी अहिले बाँझोबारी हुन पुगेको छ । इवारम वैदेशिक रोजगारीमा गए । उनका परिवार पनि सहरतिर बसाइँसराइ सरेर गएसँगै खेतबारी अहिले बाँझो हुन पुगेको हो । 

इवाारमको मात्र होइन सिरिजङ्गा–४ तेल्लोक र आम्वेगुदिन क्षेत्रमा रहेको खेतबारी धेरै बाँझो हुन पुगेको सिरिजङ्गा–४ का वडाध्यक्ष सिंहबहादुर लिम्बूले बताए । उनका अनुसार विस्तारै खेतीपाती गर्ने बानी हराउँदै गएको छ । मान्छेहरु खेतबारीमा दुःख गरेर खान मान्दैनन् । कसरी हुन्छ सुखको खोजी गर्छन् । गाउँमा रहेका पनि सुख खोज्दै युवा विदेश  जाने क्रम बढ्दो छ । गाउँदेखि सहरमा बसाई सर्नेको पनि लर्को उस्तै छ । गाउँका उर्बर जमिन बाँझो हुने क्रम बढ्दै गएको उहाँले बताए । 

यी त हुन केही प्रतिनिधि पात्र । पछिल्लो समयमा ताप्लेजुङको अधिकांश खेतबारी बाँझो रहेको भेट्न सकिन्छ । गाउँमा पढाइको सिलसिला, रोजगारी तथा सहरतिर बसाइँसराइले उर्बर खेतबारी बाँझो हुँदै गएको हो ।