धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको ५६ वर्षको उमेरमा निधन भएको छ । 

डा रौनियारको आज बिहान १० बजे निधन भएको उनको परिवारका निकट व्यक्तिले बताएका छन् । "वहाँको निधन भइसकेको हो । अहिले अरू डिटेल भन्ने अवस्था छैन"  उनका एक नातेदारले भने । उनको उपचारको क्रममा भारतको कलकत्तामा निधन भएको हो । उनी उच्च रक्तचाप, मिर्गौला रोगबाट प्रताडित रहेको परिवार निकट स्रोतले जनाएको छ । उनको एक छोरा रहेका छन् । 

प्रतिष्ठानको उपकुलपति रहेकै समय  २०७६ साल असारमा अख्तियारको स्टिङ अप्रेसनमा भतिजा डा. रामहरी रौनियारसहित पक्राउ परेका उनले खेपिरहेको भ्रष्टाचारको मुद्दाबाट गत जेठमा सफाइ पाएका थिए । 

मुद्दा चलिरहेकै समयमा उनको उपकुलपति पदको कार्यकाल  गत  फागुनमै सकिएकोले  सफाइ पाए पनि उपकुलपतिमा पुनर्बहाली भने हुन पाएनन् । दुहबी नगरपालिका ५ घर भएका प्रा.डा. रौनियारको दाहसंस्कार भोलि बिहान ९ बजे सोही वडाको बुढी खोलास्थित आर्यघाटमा हुने  प्रतिष्ठानका बाल रोग विशेषज्ञ डा अरूण कुमार सिंहले बताएका छन् ।