धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि रिक्त रहेको रजिष्ट्रार पद र केही सातादेखि रिक्त रहेको अस्पताल निर्देशक पदमा को नियुक्त होला ? अहिले चासोको विषय बन्दै गएको छ ।

बीपी प्रतिष्ठानको चार प्रमुख पदहरूमध्ये उपकुलपतिपछिको चलायमान पद रजिष्ट्रार र अस्पताल निर्देशक हो । तर, गत असोजमा रजिष्ट्रार पदबाट प्रा.डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएपछि हालसम्म पदपूर्ति हुन सकेको छैन । अस्पताल निर्देशक प्रा.डा. गौरिशङ्कर साहको पदावधि एक महिनाअघि सकिएपछि सो पद पनि रिक्त रहेको छ ।

रिक्त रहेको पदपूर्ति गर्न प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी केही दिनदेखि स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालय धाइरहेको स्रोतले बतायो । उपकुलपति गिरीले आफू अनुकूलका रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्त गर्न चाहेका छन् भने गठबन्धन सरकारले ‘आफ्नो मान्छे’ लाई नियुक्त गर्ने मौका खोजिरहेको छ ।

अहिले स्वास्थ्य मन्त्रालय नेकपा (एकीकृत समाजवादी) को भागमा छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ अनुसार रजिष्ट्रार र अस्पताल निर्देशक पदका लागि उपकुलपतिले तीन–तीन जनाको नाम सिफारिस गरेर प्रतिष्ठानका सह–कुलपति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई बुझाउनु पर्छ ।

पाँच दलको सत्ता साझेदारीमध्ये रजिष्ट्रार र अस्पताल निर्देशक पदका लागि नेकपा (एकीकृत समाजवादी), नेपाली काङ्ग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले आ–आफ्ना कार्यकर्ता नियुक्त गर्न जोडबल गरिरहेको स्रोतले बतायो । तर, रजिष्ट्रारमा काङ्ग्रेसका प्रभावशाली नेतृमध्ये प्रतिनिधि सभाका सांसद् डिला सङ्ग्रौलाका श्रीमान् डा. सूर्य सङ्ग्रौला र अस्पताल निर्देशकमा हालका डेपुटी अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले बाजी मार्ने सम्भावना बढेको छ ।

अस्पताल निर्देशकका लागि प्रतिष्ठानकै हाडजोर्नी विभागका प्रा.डा. पशुपति चौधरीले रुचि देखाए पनि उपकुलपतिले डा. प्रसादलाई रोजेकाले चौधरीको सपना पूरा नहुने स्रोतले बतायो । बीपी प्रतिष्ठानमा रजिष्ट्रार बन्न धेरैले प्रयास गरेपनि सूर्य सङ्ग्रौलाको नामबाहेक अरूको नाम उपकुलपति गिरीले सिफारिस नगर्ने भएपछि एक्लो दौडमा उनको नाम पक्का विजेतामा परेको बताइएको छ । 

सङ्ग्रौला पूर्वाञ्चल विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक हुन् भने उनी काङ्ग्रेस निकटका मानिन्छन् । डेढ महिनाअघि डेपुटी निर्देशकमा नियुक्त भएका डा. प्रसाद भने कसको कोटामा पर्न लागेका हुन् यकिन हुन नसके पनि नेकपा (एकीकृत समाजवादी) को कोटामा परेको बताइएको छ ।

उपकुलपति डा. गिरी प्रतिष्ठानमा नियुक्त भएपछि चारवटा मुद्दा खेपिरहेका छन् । यसअघि चर्केको आन्दोलनपछि प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयले उनलाई हटाउन स्वास्थ्य मन्त्रालयका १२ औं तहका विशेषज्ञ कर्मचारी पठाएको थियो । तर, कानूनी अड्चनपछि उपकुलपतिलगायत अन्य पदाधिकारीलाई बर्खास्त गर्न सकेनन् । अहिले बीपी प्रतिष्ठानमा आफ्नो मान्छे नियुक्त गर्न तिनै उपकुलपतिसँग काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा समाजवादीले साँठगाँठ गर्न बाध्य भएको प्रतिष्ठान स्रोतले बतायो ।

स्रोतका अनुसार उपकुलपतिले रजिष्ट्रारमा सङ्ग्रौला र अस्पताल निर्देशकमा प्रसादको नाम सिफारिस गरिसकेकाले प्रम देउवाले त्यसैलाई कायम गर्न स्वास्थ्य मन्त्री भवानी खापुङलाई निर्देशन दिएका छन् । आज (मङ्गलबार) वा भोलिसम्ममा दुई जनाको नियुक्ति हुने बताइएको छ ।

यसैगरी प्रतिष्ठानको २३ सदस्यीय सिनेट (सञ्चालक परिषद्) मा ६ जनाको पद रिक्त रहेको छ भने पाँच सदस्यीय कार्यकारिणी समितिमा तीन जनाको पद रिक्त रहेको छ । सिनेट र कासमा रहेको रिक्त सदस्य पदहरूलाई पनि पूर्णता दिने गरी उपकुलपतिले आफू अनुकूलका नामहरू सिफारिस गरेको स्रोतले बतायो ।

प्रतिष्ठानमा सिनेट र कासले पूर्णता नपाएर बैठक बस्न नसक्दा अस्पताल, स्वास्थ्य शिक्षण, अनुसन्धान र मेडिकल उपकरण खरिदसम्बन्धी विभिन्न योजना तर्जुमाहरू पास हुनबाट रोकिएको प्रतिष्ठानका एक वरिष्ठ प्राध्यापकले बताए । हालसम्म भएका ठेक्का टेण्डर, आर्थिक निकासा, योजना तर्जुमा सबै कास र सिनेटमा अनुमोदन गराउन बाँकी रहेको पनि ती प्राध्यापकले बताए ।

प्रतिष्ठानभित्रैका चिकित्सक, नर्स र कर्मचारीहरूले करिब एक वर्षअघि स्वास्थ्य शैक्षिक संस्था वा प्रतिष्ठानमा पदाधिकारी चयन गर्दा राजनीतिक नियुक्ति नगरी स्वच्छ, दक्ष, विज्ञहरूलाई नियुक्त गर्न माग गर्दै आएका थिए । राजनीतिक नियुक्तिले प्रतिष्ठान धरासायी भएको र राजनीतिक नियुक्ति चाहने पदाधिकारीले नेता मन्त्रीलाई ‘ब्रिफकेश’ बुझाएर आउने चलन बढेकाले राजनीतिक नियुक्ति गर्ने नीति नै खारेज गरेर योग्यता, दक्षता र विज्ञताको आधारमा नियुक्त गर्न सुझाव दिएका थिए ।