विराटनगर । मोरङ अदालतले चालु आर्थिक वर्ष २०७८/०७९ लक्ष्यभन्दा कम मुद्दा फैसला गरेको छ । मोरङ अदालतले चालु आर्थिक वर्षमा लक्ष्य लिएको भन्दा ३ सय ७९ वटा कम मुद्दा फैसला गरेको हो । 

चालु आवममा अदालतले ५ हजार ६ सय १९ वटा मुद्दा फछर्यौट गर्ने लक्ष्य लिएको थियो । तर, चालु आर्थिक वर्षको असार ३१ गतेसम्म ५ हजार २ सय ४० वटा मात्र मुद्दा फछर्यौट भएको मोरङ अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले जानकारी दिए । 

मोरङ अदालतमा अहिलेसम्मको सबैभन्दा बढी मुद्दा दर्ता भएको उनले बताए । चालु आर्थिक वर्षमा ८ हजार ६ सय ४१ वटा मुद्दा दर्ता भएको छ । ‘यो अहिलेसम्मै इतिहासमा सबैभन्दा बढी मुद्दा मोरङ अदालतमा बढी दर्ता भएको हो,’ स्रेस्तेदार राणाले भने, ‘दर्ता भएका मध्ये सबैभन्दा बढी फौजदारी कसुरमा पनि सम्बन्ध विच्छेदको बढी दर्ता भएको छ ।’ अदालतले ४ हजार १ सय ५८ वटा मुद्दा दर्ता हुने लक्ष्य लिएको थियो । जिम्मेवारी सरेर आएको ३ हजार ५ सय ४० र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएको ५ हजार १ सय १ वटा मुुद्दा दर्ता भएको अदालतको अभिलेखमा देखिन्छ । 

मोरङ अदालतमा अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा ६ हजार ४ सय २५ वटा मात्र मुद्दा दर्ता भएको थियो । यसअघि आर्थिक वर्ष ०६७/०७७ मा ५ हजार ४१ वटा मुद्दा दर्ता भएको अदालतको अभिलेखमा देखिन्छ । आर्थिक वर्ष २०७५/०६७ मा ६ हजार ५ सय ८१ मुद्दा दर्ता भएको थियो ।

चालु आर्थिक वर्षमा मुद्दा दर्ता भएका मध्ये सम्बन्ध विच्छेदको १ हजार ७ सय ९४वटा दर्ता भएको छ । दर्ता भएको मध्ये १ हजार ३ सय २६ वटा मुद्दा फछर्यौट भएको श्रेस्तेदार राणाले जानकारी दिए । सम्बन्ध बिच्छेदको ४ सय ६८ मुद्दा फैसला हुन बाकी रहेको छ ।

यस्तै करणी सम्बन्धी ३ सय ७२ वटा मुद्दा दर्ता भएको मध्ये २ सय ५९ वटा फछर्यौट भएको छ । ज्यान सम्बन्धी १९४ मुद्दा दर्ता भएको मध्ये १ सय २४ फछर्यौट भएको छ भने ७० वटा मुद्दा बिचारधिनमा रहेको छ । यस्तै लागूऔषध मुद्दा ४ सय ७९ वटा दर्ता भएको मध्ये ३ सय ७० वटा फछर्यौट भएको छ भने १०९ बाँकी रहेको अदालतको अभिलेखमा देखिन्छ । 

चालु आर्थिक वर्ष २०७७/०७८ बाट ३ हजार ५ सय ४० वटा मुद्दा लगत सरेर आएको थियो । अदालतले २७ करोड ३३ लाख ८१ हजार ६ सय ६८ रुपैयाँ जरिवना असुली गरेको छ ।