विजयपुर । प्राइम भिजन इन्टरनेशनल कलेज, धरानले शैक्षिक सत्र २०८३ का कक्षा ११, एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट तथा एड्भान्स डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजीका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


इटहरीस्थित रामाडा बाइ विन्धम होटलमा आयोजित कार्यक्रममा ५० भन्दा बढी नवप्रवेशी विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अभिषेक श्रेष्ठले कलेजको परिचय, शैक्षिक विशेषता, व्यावसायिक शिक्षा तथा विद्यार्थीहरूको भावी करियर विकासका अवसरहरूबारे जानकारी गराए । उनले प्रतिस्पर्धात्मक विश्वमा विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञान मात्र नभई व्यावहारिक सीप, अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर तथा रोजगारमुखी शिक्षा आवश्यक रहेको उल्लेख गर्दै प्राइम भिजनले यिनै पक्षलाई प्राथमिकतामा राखेर शिक्षा प्रदान गरिरहेको बताए ।


कार्यक्रमका विशेष अतिथि दिवस योन्जनले विद्यार्थीहरूलाई धरानमै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने अवसरबारे जानकारी दिँदै प्राइम भिजन इन्टरनेशनल कलेजमार्फत विद्यार्थीहरूले विश्वस्तरीय पाठ्यक्रम, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र तथा विश्वव्यापी करियरका अवसरहरू हासिल गर्न सक्ने बताए ।


त्यसैगरी, कलेजका निर्देशक दुर्गा सुवेदीले नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै अनुशासित, मेहनती र लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरित गरे । उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि कलेजले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा विद्यार्थीहरूलाई अध्ययनका लागि आवश्यक लर्निङ ब्याग, पुस्तकहरू तथा हस्पिटालिटी कार्यक्रमका विद्यार्थीहरूलाई किचन किट समेत निःशुल्क वितरण गरिएको थियो ।


कार्यक्रमले विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, अन्तर्राष्ट्रिय साझेदारी, करियरका अवसर तथा व्यावसायिक शिक्षाको महत्त्वबारे जानकारी प्रदान गर्नुका साथै नयाँ शैक्षिक यात्राप्रति थप उत्साहित र प्रेरित बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन् ।