धरान । चलचित्र ‘कबड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा निवेदक लामाले फिल्मको प्रदर्शन रोक्नसमेत माग राखेका छन् । उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरू बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानि नोक्सानी पुर्याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रहेको उजुरीपत्रमा उल्लेख छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङलगायतको अभिनय रहेको छ । केही समयअघि फिल्मकी अभिनेत्री मिरुना मगरले एक बौद्ध लामालाई यौन दुव्र्यवहार गरेको आरोपमा थप्पड हानेपछि विवाद उत्पन्न भएको थियो ।