धरान । किरात राईहरूको आस्थाको केन्द्र खुवालुङका विषयमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

किरात राई सांस्कृतिक कलाकार सङ्घको १७ औँ स्थापना दिवसको अवसरमा आइतबार धरानमा भिडियोको सार्वजनिक गरिएको हो । सालिक सतासक राईले निर्देशन गरेको भिडियोमा सप्तकोसीमा रहेको खुवालुङको मुन्दुममा आधारित कथा प्रस्तुत गरिएको छ । सैनिक भवनमा आयोजित कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले भिडियोको विमोचन गरे ।

कार्यक्रममा किरात राई समुदायका विभिन्न क्षेत्रका प्रतिभाहरूलाई पुरस्कार तथा विभिन्न स्थानीय तहमा निर्वाचित भएका प्रमुख तथा उपप्रमुखहरूलाई सम्मान गरिएको छ । सो अवसरमा १० हजार राशिको सांस्कृतिक सम्मान मेघराज राईलाई, २२ हजार २ सय २२ राशिसहित नरमाया सविरमान भिडियो पुरस्कार नगेन्द्र राईलाई, १५ हजार ५ सय ५५ राशिको तेजतिला किरात सङ्गीत पुरस्कार राजु एन राईलाई, १८ हजार राशिको हर्कजङ्ग छलिशोभा किरात कला पुरस्कार सञ्जय राईलाई र १० हजार राशिको किरात प्रतिभा पुरस्कार किरण चाम्लिङ राईलाई प्रदान गरियो । त्यसै गरी नेपाल टेलिभिजनका इटहरी स्टेशन प्रमुख गजुरधन राईलाई कदर–पत्र प्रदान गरिएको छ ।

त्यस्तै स्थानीय तह निर्वाचनमा निर्वाचित किरात राई समुदायका प्रमुख तथा उपप्रमुखहरूलाई पनि सङ्घले सम्मान गरेको छ । सम्मानित हुनेहरूमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्ष आशचन्द्र राई, मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तर राई, धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली र उपाध्यक्ष मुना राई, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई र उपाध्यक्ष रत्नश्वरी राई, भोजपुरको आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई र उपाध्यक्ष सीता राई, टेम्के मैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राई, पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राई र उपाध्यक्ष ज्योत्सना राई, खोटाङको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई र उपाध्यक्ष रूपेश राई, केपिलासगढी गाउँपलिका अध्यक्ष समीर राई र उपाध्यक्ष गुरुराज राई, जन्तेढुङ्गा गाउँपालिका उपाध्यक्ष अरुणादेवी राई, उदयपुरको लिम्चुवुङ गाउँपालिका उपाध्यक्ष पुष्पलाल राई, बेलका नगरपालिका उपप्रमुख जिरा राई, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, इलामको माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई, सुनसरीको वराहक्षेत्र नगरपालिका उपप्रमुख नन्दकुमारी सुनुवार राई रहेका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई भने कार्यक्रममा अनुपस्थित थिए । कार्यक्रममा खुवालुङ भिडियोमा अभिनय गर्ने १ सय ७३ जना कलाकार र सहयोग गर्ने सय जना विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूलाई समेत सम्मान–पत्र वितरण गरिएको सङ्घका केन्द्रीय सचिव सुरज मेवाहाङ राईले बताए । सङ्घका केन्द्रीय अध्यक्ष रामकर राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।