सरकारी जागिर पाएमा पत्रकारिता छोड्ने कुरा सामान्य हो । किनकि यस्तो धेरै भएको छ । सरकारी जागिर छोडेर पत्रकारिता गर्नु चैं असामान्य कुरा हो । किनकि यस्तो धेरैले गरेको सुनिदैन । पत्रकारले मिडियामा लगानी गरेर जग्गा जोड्नु सामान्य नै हो । यस्तो गर्नेहरू धेरै छन् । मिडियामा लगानी गरेर भएको जग्गा बेच्नु असामान्य हो । किनकि यस्तो गर्नेहरू थोरै छन् ।

यी र यस्तै असामान्य कथाहरू भरिएको कथा हो ‘मुल्तबी कथा’ । अधिवक्तासमेत रहेका इटहरीका अग्रज पत्रकार शालिग्राम पाण्डेको जीवनीको कथा भएकोले पुस्तकको शीर्षक पनि अदालती भाषाकै छ । ‘मुल्तबी’ लाई अदालती भाषामा ‘पेन्डिङ’ भनिने पुस्तकका सम्पादक सुविद गुरगाईंले सुनाए । यही पेन्डिङ अर्थको मुल्तबी कथामा शालिग्राम पाण्डेका धेरै पेन्डिङ कथाहरू छन् ।

उनले २०३३ सालदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा आएको यात्रा २०७४ बाट पेन्डिङ भएर उनी सक्रिय राजनीतिबाट स्वतन्त्र मोर्चामा आए । नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरूको आचरणमा आएको बीपी विचारइतर स्वभावले उनी स्वतन्त्रमा रम्न चाहे । २०६४ वैशाख १ गते नमुना अङ्क छापेर सञ्चालन भएको इटहरीबाट प्रकाशित प्रथम दैनिक पत्रिका श्रीजनमत तीन महिना चलेर पेन्डिङ भयो । पाण्डेको लोकसेवाबाट चलेको जागिरे जिन्दगी पनि पेन्डिङ नै रह्यो । उनले २०४३ माघ १५ मा मुखिया पदमा अञ्चल सरकारी वकिल कार्यालय धरानमा स्थायी नियुक्ति पाए । उनले २०५२ सालमा पुगेर राजीनामै दिए । राजीनामापछि वकालत र पत्रकारिता गर्न थाले । २०३३ सालबाट राजनीतिमा जोडिएर २०३६ सालको विद्यार्थी आन्दोलनपछिको जनमत सङ्ग्रहमा निलो रङ अर्थात् बहुदलको पक्षमा उभिएका पाण्डेले २०४६ देखि २०६२/६३ मा पनि राजनीतिक रूपमा उनी सक्रिय भएका पाण्डेका जिन्दगीका यस्ता धेरै पेन्डिङ कथाहरू छन् । ती कथाको एक से एक बयान उनको पुस्तकमा छन् ।

२ सय ७१ पृष्ठ र ७६ अध्यायमा फैलिएको कथामा पेन्डिङ कथाहरू मात्रै छैनन् । उनले नेपाली पत्रकारिता क्षेत्र त्यसमा पनि प्रदेश १ को सुनसरी केन्द्रित पत्रकारिताको कथा भनेका छन् । प्रेस युनियन सुनसरी अध्यक्ष २०६७ सालमा भएपछि उनकै कार्यकालमा भएको नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनको कथा उनले भनेका छन् । इटहरी उपमहानगरपालिकामा छपाइको कोटेशनमा हुने देखादेखी भ्रष्टाचारदेखि धरान उमपहानगरपालिकामा हुने गुण्डागर्दीको एक एक बयान उनले लेखेका छन् । इटहरीको दुर्गा बचत तथा ऋण सहकारी संस्थाका केही धनाढ्य सञ्चालकहरूले कसरी साधारण बचतकर्ताको पैसामा सहकारी नियम मिचेर रजाइँ गरे भन्नेबारेमा उनले एक साधारण शेयर सदस्यको रूपमा देखेको कथा भनेका छन् । २०६४ मा साप्ताहिक, पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालको तर्फबाट चिनियाँ सहर ग्वाङ्जाउको यात्रादेखि २०६९ मा सहकारीको तालिममा भारतको राजधानी दिल्ली पुगेर भोगेका दुई देशका रोचक कथाहरू पाण्डेले सटिक भाषामा उल्लेख गरेका छन् ।

भोजपुरको षडानन्द नगरपालिकाको बोयामा जन्मेर झापा, मोरङ हुँदै सुनसरीलाई विभिन्न समयमा स्थायी मुकाम बनाएका पाण्डेले जागिर र व्यापारको क्रममा देशका विभिन्न क्षेत्र घुम्दाका कथामात्रै भनेका छैनन्, उनले देखेका विकृतिका कथाहरू दिल खोलेर भनेका छन् । कर्मचारीतन्त्रदेखि अदालतसम्म हुने भ्रष्टाचारका कथा उनले खुलेर लेखेका छन् । बैङ्कको गणक (नोगजा) हुँदा पैसा लुट्न उक्साउने साथीदेखि अदालतमा हाकाहाकी घूस खाने कर्मचारीको कुरा उनले मजाले लेखेका छन् । नौ वर्षको हुँदा सानिमा पर्नेले देखाएको यौन उन्मादको कर्मदेखि उनले सामाजिक काममा गरेको धर्मसम्म पुस्तकमा उनेर पाण्डेले इमानदारिता देखाएका छन् । पुस्तकका सामग्री हेर्दा भएका घटनाहरूको हु–बहु चित्र हेरेको महसुस हुन्छ । पाण्डेले जिल्ला, उच्चदेखि सर्वाेच्चमा गएर गरेका निःशुल्क वकालतका कुराहरूका बारेमा लेखेका छन् । उनले वकालत गरेर ढल्न आँटेको घर ढाल्न रोकिएकोदेखि अदालतको भ्रष्टाचार मुद्दामा मेलमिलाप गर्नुपरेका कथासमेत खुलेर लेखेका छन् । असफल प्रेमदेखि सफल दाम्पत्यको खुलेर बखान पुस्तकमा समेटिएको छ ।

मूलतः पाण्डेको आत्मकथा भए पनि पुस्तकमा प्रदेश १ को र अझ सुनसरीको पत्रकारिताका कुराहरू धेरै आएका छन् । २०५३ मा नगरपालिका र २०७१ मा उपमहानगरपालिका भएको इटहरी जस्तो सहरमा दैनिक पत्रिका २०६४ सालमा आएर मात्रै प्रकाशन हुनु र त्यो पनि धेरै टिक्न नसक्नुका पाटाहरू पाण्डेले खुलाएका छन् । उनकै अगुवाइमा खोलिएको श्रीजनमत दैनिकबाहेकका अरू दैनिक वत्रिकाहरू गणराज्य, जनलक्ष्य, मेरो खबर, म्यासेज, पूर्वी बजार, विष्फोटनजस्ता दैनिक पत्रिकाहरूको अन्त्यको कुरा उनले लेखेका छन् । सुनसरीका निर्भीक पत्रकार डम्बरबहादुर थापादेखि ‘न्यूज मेसिन’ याम प्रधान हुँदै ज्ञानेन्द्रबहादुर कार्की, धरणीधर दाहालसम्मलाई दिवङ्गत प्रेरक भनेर पाण्डेले सम्झेका छन् । मोरङका कुमारबहादुर श्रेष्ठ, उत्तमराज कोइराला, कोषराज रेग्मी हुँदै झापाका भरत भूर्तेल, डिल्लीराज रेग्मी तथा नकुलकाजी उनको सम्झनामा परेका पुराना पत्रकारको कोटीमा छन् ।

मुल्तबी कथामा पत्रकारिता, वकालतदेखि सामाजिक सेवाका कोणबाट रोचक धेरै कुराहरू छन् । यति हुँदाहुँदै पनि केही कमजोरी भने अवश्य छन् । कथामा सार्वजनिक महŒव नराख्ने केही सामान्य कुराहरूसमेत आएका छन् । जस्तैः अध्याय ७५ मा कपाल सेतो भएको कथादेखि अध्याय २५ मा मामली घरमा सर्प देखिएका कुराभन्दा गहन कुरा पुस्तकमा अटाउन सक्थे । कतिपय पाठकले व्याख्या चाहेका कुरामा व्याख्या नै छैन । यस्तै अध्याय ४६ मा २०६७ भदौ २ गते प्रेस युनियन सुनसरीको उद्घाटन भएर असोज ९ गते चुनाव भएको कुरा मिति र उम्मेदवारहरू पाण्डेसहित इकबाल अहमद, सुविद गुरगाईं, वासुदेव बराल, गणेश निरौलासमेतको विवरण छ । तर, सोही निर्वाचनबाट चुनिएर आएको पाण्डे नेतृत्वले गरेको नेपाल प्रेस युनियनको इटहरीमा भएको केन्द्रीय महाधिवेशनको विस्तिृत चर्चा छैन । महाधिवेशनको मिति कहिले हो, व्यवस्थापन कसरी भयो, को को आएर कहाँ बसे, बसाइको प्रबन्ध कस्तो भयोदेखि त्यहाँका एजेन्डाहरू के के थिएजस्ता गुदी कुरा आएका भए झनै ऐतिहासिक दस्तावेज हुनसक्थ्यो ।

अध्याय ६९ मा २०४० सालमा इटहरीमा १० धुर जग्गा किनेको कुरा छ । तर, दाम खुलाइएको छैन । दाम खुलाइएको भए त्यो समय र अहिलेको समयको मूल्य तुलना गरेर एक सामाजिक, आर्थिक अध्ययनको सार्वजनिक विषय हुनसक्थ्यो । यी र यस्ता केही देखिने कमजोरीहरू बिर्संदा पुस्तक पठनीय छ । छोटाछोटा अध्यायले भरिएकोले पढ्न अल्छीलाग्दो छैन । प्रदेश १ को पत्रकारिता अझ खासगरी सुनसरी र इटहरीको पत्रकारिता बुझ्न र अध्ययन गर्न चाहनेका लागि यो पुस्तक पढ्नैपर्ने ग्रन्थ हो । यो शालिग्राम पाण्डेको मात्रै मुल्तबी कथा हैन । प्रदेश १ को मिडियाजगत्कै एक सुन्दर मुल्तबी कथा हो यो पुस्तक । सामुदायिक प्रकाशन प्रालि इटहरीले प्रकाशन गरेको ६० वर्षे अग्रज पत्रकार शालिग्राम पाण्डेको पुस्तक  दुई सयमा खरिद गरेर त्यहाँका सामग्री पढ्दा कुनै घाटाको अनुभव हुँदैन ।