धनकुटा । धनकुटामा ‘पुस्तकालय’ का पिता भनेर परिचय बनाएका टीकाप्रसाद लामिछानेको ‘मोहभङ्ग’ आत्मकथा लोकार्पण गरिएको छ ।
लामिछाने गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयका प्रमुख संस्थापक एवम् संरक्षक हुन् । भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले कृतिको लोकार्पण गरे । कृति लोकार्पणका क्रममा वक्ताहरूले मान्छेमा जस्तोसुकै सङ्कट आइपरे पनि हरेस नखाई अगि बढ्नुपर्छ भन्ने सन्देश कृतिमा रहेको बताए । उनीहरूले नेपालमा वैद्धिक सनातनदेखि चलिआएको हिन्दु, बौद्ध र किरात धर्म संस्कार, संस्कृतिलाई सिध्याउनका लागि देशी–विदेशी शक्तिले चलखेल गरिरहेको बताए ।
साहित्यकार प्रा.डा.बद्रीविशाल पोख्रेलले भने, ‘धनकुटामा विश्व भाषा सामुदायिक पुस्तकालय स्थापना गरेर ‘पुस्तकालय पिता’ को उपाधि पाइसकेका लामिछानेको गुणको कदर नगरे कसले गर्ने भन्दै सहभागीहरूमाझ प्रश्न गरे । पोख्रेलले उमेरले ८० वर्ष कटिसकेका लामिछानेको अनुहार पढ्दा नै थाहा हुने बताए । उनले नेपाली मौलिक संस्कृतिमाथि निरन्तर अतिक्रमण र थिचोमिचो हुने खतरा उत्तिकै कायम रहेकाले सचेत हुन आग्रह गरे ।
साहित्यकार गङ्गाधर कट्टेलले ‘मोहभङ्ग’ सात खण्डमा विभाजित रहेको र लामिछानेको जीवन सङ्घर्षका कथा पूर्णरूपमा समेटिएको बताए । आफूले भोगेको जीवन कथा यतिधेरै कसैले पनि भनेका छैनन् भन्दै कट्टेलले भने, ‘लामिछानेले भन्नुपर्ने जति सबै भनेका छन् ।’
कृतिको समीक्षा गर्दै प्राज्ञ हरिहर भण्डारीले विश्वमा आत्मकथाको परम्परा सन् ३०० देखि सुरु भए पनि १४ औं शताब्दीदेखि विश्व साहित्यमा आत्मकथा लेख्ने प्रचलन व्यापक बढेर गएको बताए । यस आत्मकथामा राजनीति, आर्थिक र पारिवारिक परिवेशलाई आधार बनाइएको भण्डारीले बताए । आत्मकथामा धनकुटाको भीरगाउँ, कुरुलेतेनुपा हुँदै वनारससम्मका प्रसङ्ग जोडिएका छन् । प्राज्ञ भण्डारीे भने, ‘लामिछानेले लेखेको आत्मकथामा पारिवारिक विवाद आउन सक्ने देखिएको छ, आएन भने त्यो राम्रो, आयो भने त्यो सामना गर्नुपर्ने हुन्छ ।’
गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाको आयोजनामा कृतिको लोकार्पण, समीक्षा तथा काव्य गोष्ठी गरिएको हो । कार्यक्रममा साहित्यकार हरि बराल, कवि टीका आत्रेय, चुङवाङ धनकुटेली कविहरू तुलसा स्वदेशी राई, ठगिनकुमार राई, धनकुटाका युवा कवि मुकुन्द प्रयास, मुन्धुमी कवि केजी सुब्बा, घनश्याम बराल ‘औलाली’ लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए ।