भद्रपुर । झापामा ८५ जना व्यक्ति हराएका छन् । विभिन्न जिल्लाबाट निवेदन परेका ८५ जनामध्ये ३४ जना नागरिक फेला परेका छन् ।
माइती नेपाल काँकडभिट्टा र साना हात नेपाल भद्रपुरले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१÷०८२ को तथ्याङ्कले यस्तो देखाएको हो ।
माइती नेपालका पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय अधिकृत गोविन्द घिमिरेले मुलुकका विभिन्न जिल्लाबाट हराएर निवेदन परेका ६९ जनामध्ये २० जना भेटिएको जानकारी दिए ।
भेटिएका २० जनामध्ये २ नेपाल र बाँकी १८ जना भारतका विभिन्न सहरहरूबाट फेला परेको जनाए । हराएका अधिकांश चेलीबेटीहरू सम्बन्ध बिगारेर, पैसाको प्रलोभनमा परेर, जागिरको खोजीमा अलपत्र परेका, विवाह गरेर बसेकालगायत कारणले बेपत्ता भएको घिमिरेले बताए ।
हराएका केहीले धेरै समयपछि घरमा सम्पर्कमा आएर अभिभावकहरूले कार्यालयलाई जानकारी गराउने, कसैलाई संस्थाकै माध्यमबाट अभिभावकलाई सम्पर्क गरिदिने गरिएको उनको भनाइ छ ।
यस्तै कार्यालयले सीमा नाकामा १ सय ५८ जनालाई भारत जानबाट रोकेको छ । भारतबाट ४ जनालाई उद्धार पनि गरिएको छ । घिमिरेका अनुसार विगतमा भन्दा काँकडभिट्टा सीमा नाकामा नेपाल र भारतका सुरक्षाकर्मीहरूको निगरानी कडाइ रहेको छ । त्यस्तै चेलीबेटी बेचबिखनसम्बन्धी काम गर्ने धेरै सङ्घ–संस्थाहरूको सहकार्यले पनि उद्धारमा सहज भएको छ ।
यता भद्रपुरमा रहेको साना हात नेपालले दिएको जानकारी अनुसार १६ वटा हराएको निवेदन परेकोमा १४ जना फेला पारेको जनाएको छ । संस्थाका स्टेशन म्यानेजर विक्रम वाग्लेले भारत जानबाट सीमामा १ सय ४० जनालाई रोकेको बताए । संस्थाले २१ वटा जनचेतनाका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको छ ।
पछिल्लो समय चेलीबेटी बेचबिखनमा सक्रिय दलालहरूले यो नाकामा कडाइ भएपछि झापाका अन्य सहायक बाटाहरू प्रयोग गर्न थालेका छन् । मानव तस्करीका दलालले झापाका दक्षिणी भेगहरू गौरीगञ्ज, कचनकवललगायतका ग्रामीण सडक प्रयोग गर्न थालेको बुझिएको छ ।
माइती नेपालले २ वटा बलात्कारका घटना र घरेलु हिंसाका ७ वटा घटना दर्ता रहेको जनाएको छ । २०८०÷०८१ मा ६२ जना हराएकोमा १६ जना भेटिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । १ सय ६८ जनालाई सीमामा रोकेको थियो । घरेलु हिंसाका १४ वटा र बलात्कारसम्बन्धी २ वटा घटना दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।
माइती नेपालले जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारका लागि विदेश जानेहरूलाई पनि कर्मचारी खटाएर परामर्श दिने गरेको छ । सुरक्षित आप्रवासन सम्बन्धी २०८१÷०८२ मा पाँच हजार १ सय ४० जना र ०८०÷८१ मा सात हजार ६ सय ७४ जनालाई परामर्श दिएको तथ्याङ्कमा उल्लेख छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म काँकडभिट्टाका प्रमुख डीएसपी रामचन्द्र थापाले सीमा नाकामा चेलीबेटी बेचबिखन रोक्न, अन्य आपराधिक गतिविधि र अवैध भन्सार छलीका सामानको निगरानी, पक्राउ र बरामद मुख्य प्राथमिकता रहेको बताए । उनले समाजमा रहेका अनेक प्रकारका विकृति रूढीवादी परम्परालाई हटाउने कार्य आफ्नो घरबाटै सुरु गर्नुपर्ने बताए ।
मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले वैदेशिक रोजगारको प्रलोभनमा परेर भारतका कोठी र अन्य ठाउँमा अलपत्र परेकाहरूलाई उद्धार गर्नमा सहकार्य गरेको बताए ।
उनले आफ्नै नगरमा विभिन्न तालिम दिएर रोजगारको सिर्जनाका लागि गरिखाने वातावरण बनाइरहेको दाबी गरेका छन् । विद्यार्थीहरूलाई विद्यालयमा पुगेर सचेतना दिइरहेको माइती नेपालको सामाजिक काममा सहकार्य गरिरहेको काँकडभिट्टा मा.वि.का प्रधानाध्यापक देवेन्द्र निरौलाले बताए ।