धनकुटा । नगरमा भौतिक निर्माणको काम भइरहेका छन् । भर्खरै नगर प्रमुखले सहिदको सालिक उद्घाटन गरेका छन् । गणतन्त्र स्तम्भ, वाटर फाउण्डेशन र भ्यूटावरको उद्घाटन गरेका छन् ।
कार्यक्रममा सहभागी भएकाहरूको गुनासो र चासो भने अरू कुरामा छ । किसानलाई मल, बिउ, सिँचाइ, खानेपानीको चासो छ । आर्थिक रूपमा कमजोर नागरिकहरूलाई सर्वसुलभ गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको चासो छ । यी गुनासाहरूका बीच नगरप्रमुखले नमुना नगर घोषणा गर्न लागेका छन् । जनतालाई भने सुलभ स्वास्थ्य शिक्षा र स्वास्थ्य उपचारको चासो छ ।
यो कथावस्तु शिल्पी थिएटरको मुक्त रङ्गमञ्च २०७९ को अभियान अन्तर्गत सोमबार धनकुटामा मञ्चन गरिएको नाटक ‘अलिकति उज्यालो’ को हो । नाटकमा जनप्रतिनिधिहरूले माथि भनिए झैं सहिद स्तम्भ, भ्यूटावर, गणतन्त्र स्तम्भ, वाटर फाउण्डेशन उद्घाटन गरेर नमुना नगर बनाउन खोजेको देखिन्छ ।
तर, नगरवासीले भने राज्यव्यवस्थाबाट नेपाली जनताले भोगिरहनु परेका अनगिन्ती बेथितिहरूमध्येका राजनीति, शिक्षा, स्वास्थ्य, महिलामाथि गरिने हिंसाको अन्त्य भएको नमुना नगर खोजिरहेका देखिन्थे । युवाहरू बाध्य भएर विदेशिनु पर्ने अवस्थाको अन्त्य गरेर आर्थिक समृद्धिको लागि आफ्नै नगरमा बस्ने वातावरण सिर्जना हुन नसकेको नमुना नगरको यथार्थ कथावस्तु नाटकमा प्रस्तुत गरिएको थियो ।
नाटक हेरिसकेपछि अलिकति उज्यालो कस्तो लाग्यो भनेर आयोजकको तर्फबाट सोधिएको थियो । सहभागीमध्ये लामो समयदेखि शिक्षण पेशामा संलग्न धनकुटा–४ का दिनेश अधिकारीले वास्तवमा नेपाली जनताले भोगिरहेको यथार्थ कथावस्तु झल्किएको र नाटकले मन छोएको बताए । उनले शिक्षामा भएको बेथिति, बाध्य भएर देशको युवाशक्ति विदेशिनु पर्ने अवस्था, महँगो स्वास्थ्य उपचारले नागरिकलाई पारेको मारको नाटकले सफल चित्रण गरेको बताए ।
उनले भने, ‘राजनीतिक पार्टीहरूले चुनावको मुखमा गरिरहेको उम्मेदवारी छनौट र सिफारिसजस्ता विषयवस्तुलाई पनि नाटकमा समेटिएकाले नाटक समसामयिक रहेको छ ।’ सो अवसरमा धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्सका प्रिन्सिपल रामनारायण रामा, हिले माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र आचार्य, अधिकारकर्मी गीता अधिकारीलगायतले नाटक हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिँदै नाटकले नेपाली जनजीवनको यथार्थतालाई पस्किएको अनुभूति भएको बताए ।
नाटकमा नाट्यकार घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको छ । नाटकमा नाट्यकलाकार पवित्रा खड्का, सङ्गीता उराँव, मानहाङ लावती, ज्योति पोख्रेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल, सञ्जित थुलुङ राई, सुशीला लुहार, अजय लामा र सञ्जय शाहीले अभिनय गरेका थिए ।
विशेषगरेर नाटकमा बाध्यताले गर्भवती श्रीमतीको पोल्टोमा बेरेर राखेको पैसासमेत वैदेशिक रोजगारीको लागि बिदा मागेर हिँडेको श्रीमान् अजय लामालाई दिएर पठाएको श्रीमती बनेर नाटकमा प्रस्तुत् भएकी ज्योति पोख्रेलको अभिनयले अधिकांश दर्शकलाई भावुक बनाएको थियो ।
स्थानीय व्यवस्थापनमा सल्लेरी साहित्य सङ्गम धनकुटा, पत्रकार महासङ्घ धनकुटा र बहुमुखी पाठशाला धनकुटाले शिल्पी थिएटरको मुक्त रङ्गमञ्च–२०७९ को अभियानलाई सहयोग गरेको थियो ।
सो अवसरमा सल्लेरी साहित्य सङ्गम धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारी, पत्रकार महासङ्घ धनकुटा शाखाका सल्लाहकार सन्तवीर लामा, हाम्रो बहुमुखी पाठशालाका अध्यक्ष सरोज भुजेलले नाटकमा सहभागी सम्पूर्ण कलाकारहरूलाई धन्यवाद दिँदै खादाले सम्मान गरेका थिए । आयोजकले कार्यक्रममा स्थानीय जनप्रतिनिधि र दलका नेताहरूलाई पनि आमन्त्रण गरे पनि अनुपस्थित रहे ।