सुनसरी । ‘मानव–वन्यजन्तु सह–अस्तित्व हाम्रो साझा दायित्व’ भन्ने नाराका साथ कोसीटप्पुमा २७ औं वन्यजन्तु सप्ताह मनाइएको छ ।
वन्यजन्तुको संरक्षणमा केन्द्रित हरेक वर्ष मनाउँदै आएको वन्यजन्तु सप्ताह वैशाख १ देखि ७ गतेसम्म कोसीटप्पु वन्यजन्तु आरक्षमा मनाइएको हो । यसवर्ष वन्यजन्तु सप्ताहमा दुर्लभ अर्ना, हात्ती, चराचुरुङ्गीलगायतका वन्यजन्तु संरक्षणमा गरिएका प्रयासको समीक्षा गर्दै समुदायमा आधारित सचेतना कार्यक्रम सम्पन्न गरिएको कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए ।
पछिल्लो केही वर्षयता मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको कुरालाई मध्यनजर गर्दै सप्ताहमार्फत् सह–अस्तित्वको विषयलाई जनस्तरसम्म लाने प्रयास गरेको उनको भनाइ छ । कोसीटप्पु वन्यजन्तु आरक्षभित्र रहेका हात्ती, अर्नासहितका जनावरहरूले मानव बस्तीमा पसेर मानिसलाई आक्रमण गर्ने, अन्नबाली खाइदिने, घरमा तोडफोड गर्ने जस्ता कारणले मानव र वन्यजन्तुबीचको अस्तित्व सङ्कटमा पर्दै गएकोले त्यसतर्फ समयमै सचेत हुनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए ।
वन्यजन्तुलाई पर्यटनसँग जोडेर गरिँदै आएको क्रियाकलापले स्थानीयवासी लाभान्वित हुनुपर्नेमा जोड दिँदै पर्यटन व्यवसायी सुरज गिरीले वन्यजन्तु संरक्षण गरेबापत हुने आम्दानीको हिस्सा स्थानीयको आयआर्जन र सामुदायिक विकासमा खर्च हुनुपर्ने बताए । वन्यजन्तु हाम्रा सम्पत्ति हुन् भन्ने कुरा आरक्ष क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बुझाउन सकेको अवस्थामा वन्यजन्तु संरक्षण गर्न सहयोग पुग्ने उनको सुझाव छ ।
वन्यजन्तुले क्षति गरेबापत सर्वसाधारणलाई राज्यले दिने क्षतिपूर्ति पाउने प्रक्रिया झन्झटिलो भएको भन्दै पश्चिम कुसाहा लौकही उपभोक्ता समितिका अध्यक्ष राजकुमार सिंहले मध्यवर्ती र आरक्षको सहकार्यमा स्थानीयस्तरमा कोष निर्माण गरी तत्काल राहत दिने व्यवस्था मिलाउन आग्रह गरे । सोही कार्यक्रममा आफ्नो धारणा राख्दै स्थानीय भोजराज काफ्लेले कोसीटप्पुको विकासमा आवश्यकताअनुसार काम हुन नसकेको गुनासो गर्दै पर्यटन व्यवसायीको व्यक्तिगत पहलमा पर्यटक आउने गरेको पाइएकाले सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए ।
‘पर्यटन व्यवसायीको व्यक्तिगत पहल र प्रयासमा कोसीटप्पुमा पर्यटक आउने गरेका छन्’ उनले भने, ‘सहकार्य गरेर काम भएको पाइँदैन । सोलार जडान मात्रै गरिएको छ, त्यसको काम छैन ।’ काफ्लेले गुनासो गर्दै अगाडि भने, ‘सामुदायिक वन र उपभोक्ता समितिको काम पनि कागजमा मात्रै सीमित छ ।’
त्यस्तै सप्ताहव्यापी समापन कार्यक्रममा बोल्दै रविन घिमिरेले घरपालुवा जनावर बाहिर निकाल्न, आरक्ष विस्तार गर्न, आरक्षबाट आश्रित परिवार पहिचान गर्न, उपभोक्ता समिति चलायमान बनाउन कानून संशोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उठेका जिज्ञासा र गुनासोलाई सम्बोधन गर्दै प्रमुख संरक्षण अधिकृत खतिवडाले आएको कुरालाई सुझावका रूपमा लिएर अगाडि बढ्ने बताए । वन्यजन्तुको संरक्षण गर्न राज्यपक्ष मात्र लागेर नहुने बताउँदै उनले त्यसको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
मानव र वन्यजन्तुबीच द्वन्द्वका कारण संरक्षणमा चुनौती देखिएको बताउँदै खतिवडाले सोही कुरालाई ध्यानमा राखेर वन्यजन्तु सप्ताहअन्तर्गत वन्यजन्तुको महŒव र यसबाट हुने फाइदाको विषयमा समुदायलाई बुझाउन गाउँ–गाउँ र बस्ती–बस्तीमा जनचेतनामूलक कार्यक्रम गरिएको बताए ।