यासोक । पाँचथर जिल्लामा पछिल्लो समय सुन्तला बगान मासिदै जान थालेको छ । किसानले परम्परागत खेती त्यागेर सुन्तला खेती गर्दै आएका छन । तर पछिल्लो समयमा बाताबरणीय प्रभाव र किराको प्रकोपका कारण सुन्तला बगान मासिदै जान थालेको हो । किसानले उत्पादन गर्दै आएको बगानमा समस्या देखिएपछि बाली संरक्षण प्रयोगशाला मोरङले चासो दिएको छ ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका— ७ को पिपलबोटे वडाका किसानलाई सुन्तला बगान बचाउने उपायको बिषयमा प्रशिक्षण दिएको छ । कृषि ज्ञान केन्द्र पाँचथर र गाउँपालिकाको समन्वयमा प्रयोगशालाले बगान जोगाउन अपनाउनु पर्ने उपायको बिषयमा किसानलाई प्राविधिक ज्ञान दिएको हो । 

सुन्तला राम्रो उत्पादन हुदै आएको गाउँपालिकामा केही वर्ष यता फल झर्ने, बोट सुक्ने जस्ता समस्याका कारण बगान मासिन थालेको किसानले गुनासो गर्दै आएका थिए । किसानको गुनासो सम्बोधन गर्न यस अघि नै प्रयोगशालाले स्थलगत अनुगमन र निरिक्षण गरेको थियो ।

समस्या समाधान गर्न किसानको बगानमै प्रयोगात्मक रुपमा सुन्तला बाली संरक्षण गर्ने उपायको रुपमा प्रशिक्षण दिएको प्रयोगशाला मोरङका नि. बाली संरक्षण अधिकृत घनश्याम बरालले बताए । किसानले व्यवसायिक रुपमै सुन्तला खेती गर्दै आएका छन । तर मुख्य समस्या जरा कुहिएर बोट मर्ने र फल छर्ने समस्या छ । उनले भने समस्या समाधान गर्न अध्यायन र अनुसन्धापछि ढुसीनाशक र किट्नाषक बिषादीको प्रयोग बिधी सिकाएका छौ । 

वडाको सयौं हेक्टरमा सुन्तला उत्पादन हुदै आएको छ । वडामा उत्पादन हुदै आएको सुन्तला बगान संरक्षण गर्न कृषकलाई कृषि ज्ञान केन्द्रका प्रमुख सागर बिष्ट सहितको प्राविधिक टोलिले फुट स्पेयर, चुना, निलो, तुथो सुस्मखाद्य तत्व भिटामिन लगायतका बिषादी र भिटामिन बितरण गरेको छ ।

उर्जाशिल कृषक समुह मार्फत सुन्तला उत्पादन गर्दै आएका किसानको पीडामा प्रयोगशालाले चासो देखाएपछि उनिहरु हर्सित भएका छन । “गत बर्ष ५ लाख रुपैयाँ सुन्तलाबाटै आम्दानी भयो । तर यो वर्ष ८० हजार दुःखले आम्दानी गरेको कृषक खगेन्द्र नेपालले बताए ।

यस अघि कुनै पनि प्राविधिक ज्ञान नपाएको सुनाउदै उनले प्राविधिक ज्ञान र प्रयोगशालाले उपलब्ध गराएको भिटामिन र बिषादीको प्रयोगले केही आसा पलाएको बताए । बगान जोगाउने प्रयोग र बिधी नियाल्दै आएका अर्का कृषक सोरकुमार आङदेम्बे पनि बगान जोगाउन कृषक नै अघि सर्नु पर्ने बताउछन् ।

प्राविधिकले दिएको ज्ञान र सिपलाई नियमित प्रयोग गर्ने हो भने बगान जोगाउन र उत्पादन बढाउन सहज हुने उनको भनाइ छ । गाउँपालिकाबाट वर्षेनी करोडौं रुपैयाँको सुन्तला निर्यात हुने गरेको वडा अध्यक्ष लिला प्रसाद नेपालले बताए ।