सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले चीन भ्रमणका नाममा निर्णयविनै करिब चार लाख रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

वैदेशिक भ्रमणमा जानुपूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने भए पनि प्रमुख खत्रीले स्वीकृति नलिई २०७५ असोज ४ गते चीन भ्रमणको नाममा ३ लाख ९९ हजार ५ सय रुपैयाँ लिएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा उनी चीन भ्रमण गएको भए पनि मन्त्रालयको स्वीकृति नलिई नै भ्रमण गरी भुक्तानी लिएको नेपाली काङ्ग्रेसका जिल्ला सचिव कुमारबाबु अधिकारीले बताए ।

प्रमुख खत्रीसहित नगरपालिकाको नेतृत्वले विभिन्न भ्रमण तथा अनुगमनका नाममा रकम लिएको उनको भनाइ छ । नगर प्रमुख खत्रीसहित नगरपालिकाको नेतृत्वको नाममा चार वर्षदेखि बेरुजु रहेको उनले बताए । आर्थिक वर्ष २०७४/०७५ अन्तर्गत २०७५ असार ३ गते खाँदबारी भ्रमणबापत पेश्की स्वरूप दुई लाख रुपैयाँ भुक्तानी लिएको माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राईले बताए ।

उनका अनुसार चैनपुरबाट करिब ३९ किलोमिटरको दूरीमा रहेको खाँदबारी पुग्दा २ लाख रुपैयाँ पेश्की लिनु गलत हो । उनीसँगै उपप्रमुख मुना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षहरूले पनि २० लाख ९५ हजार रुपैयाँ पेश्की लिएको उनको भनाइ छ ।

उक्त विषय आ.व. २०७४/७५ को महालेखा परीक्षकले प्रकाशित गरेको प्रतिवेदनको बुँदा नम्बर २६ मा उल्लेख छ । त्यस्तै सवारी साधनबापत वार्षिक ९६ हजार रुपैयाँ लिए पनि कार्यालयकै सवारी साधन प्रयोग गरी रकम लिएको उनीहरूको आरोप छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा पनि चैनपुर नगरपालिकाको बेरुजुको चाङ रहेको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्थानीय नागरिकले पत्रकार सम्मेलन गर्दै महालेखा परीक्षकले औंल्याएको बेरुजु तत्काल फस्र्योट गर्नुपर्ने आवाज उठाए ।

चैनपुरमा एमालेका जनप्रतिनिधि रहेका छन् । जनप्रतिनिधि भएकाहरूले नियम विपरीत रकम लिने अनि मलेपको प्रतिवेदनलाई नै बेवास्ता गर्ने प्रवृत्ति गलत रहेको बताए । माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राईले भने, ‘यथासक्य चाँडो बेरुजु रकम फिर्ता गर्दै कानूनी कारबाही भोग्नुपर्छ ।’

नेकपा एकीकृत समाजवादीका नेता उमेशकुमार डाँगीले प्रतिवेदन आइसकेपछि पनि सुध्रिएला भनेर यत्तिकै छोड्दा ३ वर्षको हाराहारीमा नगरमा कराडौंको भ्रष्टाचार भइसकेको बताए ।

जनप्रतिनिधिहरूले अनुदान वितरण, खेलकुद कार्यक्रम सञ्चालन, नदीजन्य उत्खनन्बाट प्राप्त कर, ठेकेदार कम्पनीसँग मिलेमतो गरी रकम लिने गरेको आरोप लगाएका छन् । नगरपालिकाका प्रमुखका स्वकीय सचिवका नाममा जम्मा गरेको रकम समेत बेरुजु आउनुमा झनै शङ्का थपिएको उनीहरूको भनाइ छ ।

यस विषयमा नगर प्रमुख खत्रीले तत्काल उत्तर दिन नसक्ने बताए । प्रतिवेदन अध्ययन गरेर आवश्यक भए पत्रकार सम्मेलन नै गरेर जानकारी गराउने उनले बताए ।