पाँचथर । सुख–दुःखमा सबैभन्दा नजिकको साथी सायद जीवनसाथी नै हो । खुसी साट्ने, दुःख बाँड्ने अनि जीवनका आरोह–अवरोहमा निःस्वार्थ र बेपर्बाह साथ दिने सम्भवतः जीवनसाथी नै हो । त्यसैले होला, हाम्रो समाजमा जीवनसङ्गीनीलाई अर्धाङ्गीनी भन्ने पनि चलन छ ।

यसरी एक–अर्कामा सबैभन्दा नजिकबाट महसुस गरिएको जीवनसङ्गीनीको मृत्युमा भावविह्वल नहुने सायदै कोही होला ! पाँचथर, फिदिम नगरपालिका–६ सिवास्थित फेदायकका मनहाङ तुम्रोक पनि ४० वर्षको अल्पायुमै भएको आफ्नी जीवनसङ्गीनीको मृत्युले गहिरो पीडामा परे । अन्ततः उनले भौतिक रूपमा यो दुनियाँबाट अलप भएकी आफ्नी जीवनसङ्गीनीको आठ लाख रुपैयाँ खर्चेर चिहान बनाए ।

८ पुष २०३८ मा जन्मिएकी सुजासँग मनहाङले झण्डै दुई दशकअघि विवाह गरेका थिए । तर, उनको सुगर र फोक्सोसम्बन्धी समस्याका कारण १५ मङ्सिर २०७८ मा अल्पायुमै निधन भयो ।

जीवनसङ्गीनीको मृत्युको चोटले गलेका मनहाङले घरनजिकै बारीमा श्रीमतीको अन्त्येष्टि गरी आठ लाख रुपैयाँ खर्च गरेर सुन्दर चिहान र फलैंचा (बिसौनी) बनाएका हुन् ।

उक्त चिहान टाढाबाट हेर्दा सानो तर, सुन्दर पक्की घरजस्तो देखिन्छ । कलात्मक चिहानलाई बाहिरबाट सिसाले कभर गरिएको छ । सिसाको कभरभित्र चिहान वरिपरि घुम्ने स्पेस राखिएको छ ।

समग्र चिहानलाई सानो बिल्डिङ बनाइएको छ । नजिकै सुजाकै स्मृतिमा फलैंचा (बिसौनी) पनि निर्माण गरिएको छ । नजिकैको दूरीमा रहेको फलैंचादेखि चिहानसम्म पुग्न सिँढीमार्ग बनाइएको छ ।

यति गर्नलाई आठ लाख रुपैयाँ खर्च भएको मनहाङले बताए । ‘अझ बाहिरबाट वरिपरि फूलका गमला राख्न र तारबार लगाउन भने बाँकी छ’ –उनले भने । केवल चिहानका लागि किन यति धेरै खर्च गर्नुभयो त ? भन्ने जिज्ञासामा उनले भने, ‘मेरो मनले यसै गर् भन्यो, यसै गरेँ ।’

उक्त स्थान र वरिपरि यस किसिमको चिहान हालसम्म कसैको बनेको छैन । त्यसैले वरपरका मानिस अनौठो मान्दै चिहान हेर्न आउने गरेका छन् । तर, केहिले भने चिहानकै लागि त्यतिका ठूलो धनराशि खर्च गर्ने कामलाई निको मानेका छैनन् ।

बरु उक्त रकमले दिवङ्गत सुजाको नाममा अक्षयकोष स्थापना गर्ने वा कुनै सामाजिक काम गर्न सकिएको भए राम्रो हुन्थ्यो, उनलाई अझ अमर बनाउन सकिन्थ्यो भन्ने सुझाव पनि मनहाङले नपाएका होइनन् । तर, आफ्नो मनले गर् ! भनेको काम गरेको मनहाङको भनाइ छ ।