धरान । नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस पिण्डेश्वर विद्यापीठ हातामा सरस्वतीको मन्दिर निर्माण हुने भएको छ ।

निर्माण गरिन लागेको मन्दिरको शिलान्यास धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले गरे । सरस्वती पूजाकै अवसर पारेर मन्दिर भवनको शिलान्यास गरिएको हो ।

विभिन्न सहयोगी दाताहरू र क्याम्पसको केही लगानीमा मन्दिर निर्माण गर्न लागिएको क्याम्पस प्रमुख काशीनाथ पौडेलले जानकारी दिए । करिब ११ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको मन्दिरको शैली भने प्यागोडा रहने उनले बताए ।

शिलान्यास गर्दै नगर प्रमुख राईले मन्दिर निर्माणमा आफूले पनि सक्दो सरसहयोग गर्ने बताए । उनले त्यसक्रममा शिलान्यास कार्यक्रमको भोजनमा लाग्ने खर्च बराबर १० हजार रुपैयाँ दिने घोषणा गरे ।

पिण्डेश्वर विद्यापीठबाटै अक्षरारम्भ गरेका भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले पनि मन्दिरका लागि नगद २५ हजार रुपैयाँ दिने घोषणा गरे । धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले सरस्वती पूजाका दिन सरस्वतीको मन्दिरको शुभारम्भ हुनु खुसीको कुरा भएको बताए । उनले मन्दिर चाँडै निर्माण सम्पन्न गर्ने पनि बताए ।