धरान। सुनसरीको दुहबीमा फरवार्ड इन्टरप्राइजेजले बहुतले सुपरमार्केट सञ्चालनमा ल्याएको छ ।
फरवार्ड इन्टरप्राइजेजले ‘फरवार्ड सुपरमार्केट’ सञ्चालनमा ल्याएको हो । ६ तले सुपरमार्केटमा खाद्यान्नदेखि लत्ताकपडा, इलेक्ट्रोनिक्स, जुत्ताचप्पल, फिल्म हल र फुड कोर्टसम्मको सुविधा छ ।
इन्टरप्राइजेजकी अध्यक्षसमेत रहेकी पूर्व राज्यमन्त्री भगवती चौधरीले सुपरमार्केटको उद्घाटन गरिन् । उनले स्थानीय जनताले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्ने अभिप्रायले सुपरमार्केट सञ्चालनमा ल्याएको जनाइन् । उनले भनिन्, ‘फरवार्ड सुपरमार्केटले यहाँका जनताको जीवनशैलीलाई पनि परिवर्तन गर्न सहयोग पुग्छ भन्ने विश्वास लिएको छु ।’
ग्रामीणभेगका जनतालाई उद्यमशीलतामा जोड्न फरवार्डले कृषि, पशु तथा परम्परागत सीपलाई व्यवसायिक बनाउन सहकार्य गर्ने पनि बताइन् ।
कार्यक्रममा महिला तथा बालबालिका समितिकी सभापतिसमेत रहेकी सङ्घीय सांसद् निरुदेवी पालले फरवार्डले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने बताइन् । फरवार्डले लघुवित्तमार्फत् ग्रामीण क्षेत्रका हजारौं महिलालाई रोजगारी दिन सफल भएको उनले बताइन् ।
त्यसैको नमुनाको रूपमा यो पनि रहेको बताइन् । कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले सुपरमार्केटले स्थानीय क्षेत्रको अर्थतन्त्र सुधार्न सहयोग पुग्ने बताए । उनले छरिएर रहेका व्यवसायहरूलाई पनि एकीकृत रूपमा सञ्चालन गर्न अभिप्रेरित गरेको बताए ।
फरवार्ड इन्टरप्राइजेजका प्रबन्ध निर्देशक द्रव्यराज चौधरीले फरवार्ड सुपरमार्केटमा १५ हजार बढी सामानहरू रहेको जनाउँदै अब दुहबीबासीले कुनै पनि सामान खरिद गर्न इटहरी, विराटनगर तथा जोगवनीसम्म जानु नपर्ने बताए ।
करिब २० करोडको लगानीमा सुपरमार्केट सञ्चालनमा आएको हो । उद्घाटनको अवसरमा ३० प्रतिशतसम्म छुट दिइएको छ भने विभिन्न लक्की ड्र तथा बम्पर उपहार योजना पनि ल्याइएको जनाएको छ ।