विराटनगर । विराटनगरमा स्पेस साइन्स अर्थात् खगोल शास्त्र तथा स्ट्रोनोमिसँग सम्बन्धित तीन दिने कार्यशाला गोष्ठी सुरु भएको छ । विराटनगरमा बिहीबारदेखि उक्त कार्यशाला गोष्ठी सुरु भएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति कीर्तिपुर तथा अरनिको माध्यमिक विद्यालय विराटनगरको संयुक्त आयोजनामा सुरु भएको कार्यशाला गोष्ठीमा विज्ञान अध्यापन गराउने झापा, मोरङ र सुनसरीका प्राध्यापक र विज्ञान सङ्काय अध्ययन गर्दै आएका विद्यार्थी गरि  १ सय २० जनाको सहभागी रहेको हिसान मोरङका अध्यक्ष तथा अरनिको माध्यमिक विद्यालयका प्रमुख राजेश कार्कीले जानकारी दिए । 

सो कार्यशाला गोष्ठीमा तीन जिल्लाका ४० कलेजबाट एक जना विज्ञान सङ्काय अध्ययन गराउने प्राध्यापक र दुई जना विद्यार्थीले भाग लिन पाउँछन् ।  खगोल शास्त्र र अन्तरिक्ष विज्ञानमा भइरहेको नयाँ प्रविधि र अध्ययन खोज विषयमा जानकारी दिन विद्यार्थीलाई यस सम्बन्धी  अनुसन्धानमा अभिरुचि जोगाउने उद्देश्यले तीन दिने कार्यशाला गोष्ठी सुरु भएको सहजकर्ता विजय दङगालले जानकारी दिए ।

कार्यशाला गोष्ठीमा काठण्डौंबाट आएका डा. एसके शर्मा, डा. पिआर ढुङगेल, डा. एचपी लामिछाने, एसआर साहीलगायतले सहजीकरण गर्दछन् ।