विराटनगर ।  भाषा, धर्म, संस्कृतिको जर्गेना र संरक्षण गरिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । तमु ह्यूला छोज धीं महानगर विराटनगरले बिहीबार  तमु ल्होछारको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले धर्म संस्कृतिको रक्षा गर्दै यस्ता सांस्कृतिक पर्वले समाजमा भाइचारा कायम गर्ने बताए । उनले भाषा, धर्म र संस्कृतिको संरक्षण गर्दै सबै धर्मको सम्मान गरेर पर्वहरु मनाउनुपर्ने बताए । ‘नेपालमा सबै जातजातिको बसोवास रहेको छ । यो हाम्रो विशेषता हो,’ उनले भने, ‘आफ्नो संस्कृति बिर्सनु हुदैन । धर्म, संस्कृतिहरु पुस्ता हस्तान्तरण गर्दै संरक्षण गरेर लैजानु पर्दछ ।’ गुरूङ सामुदायहरुले मनाउने पर्व लागि गुम्माको भवनको लागि महानगरपाकिाले जग्गा पनि उपलब्ध गराउन  सहयोग पु¥याउने उनले बताए ।

कार्यक्रममा तमु ह्यूला छोज धीं महानगर विराटनगरको सचिब राजेश गुरूङले विराटनगर क्षेत्रमा २०६५ सालदेखि गुरूङ सामुदायहरु एकीकृत भएर आफ्नो भाषा, धर्मको संरक्षणमा लागि पर्दै आएको बताए । ‘अहिले पनि माहानगरपालिका क्षेत्रमा गुरूङ सामुदायहरुको आफ्नै गुम्बा नहुदा आफ्नो जातिय सांस्कृति कार्यक्रम गर्दा भाडामा ठुलो धनराशी खर्चेर कार्यक्रम गर्नुपर्ने अवस्थामा छ,’ उनले भने ।

धर्म, संस्कृतिको संरक्षणमा स्थानिय र प्रदेश सरकारले भूमिका खलिदिनुपर्ने उनले बताए । कार्यक्रममा तमु ह्यूला छोज धी विराटनगरको अध्यक्ष अमित गुरूङ, उपाध्यक्ष तारा घले गुरुङलगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन भली सुब्बा गुरूङले गरेकी थिइन् ।